सुनसरीमा विषयगत शिक्षक नै छैनन्, एक हजार ३०० शिक्षक अपुग

मंसिर १२, २०७५ सुनसरी / सुनसरीमा एक हजार ३ सय शिक्षक अपुग रहेको पाइएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनुपातको तुलनामा एक हजार ३०० शिक्षक अपुग रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ । सरकारी शिक्षा नीतिअनुसार विद्यालयमा विद्यार्थी संख्या अनुपातमा शिक्षकको व्यवस्थापन गरिनुपर्ने प्रावधान छ । जसअन्र्तगत एक शिक्षकको हकमा ४० देखि बढीमा ५० जना विद्यार्थी हुनुपर्ने हुन्छ । सुनसरीमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या एक लाख ९५ हजार १०० रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले उपलब्ध गराएको पछिल्लो विद्यार्थी भर्नाको संख्यात्मक विवरणमा उल्लेख छ । भर्ना अवधिको गणना सीमित समयमा गरिने हुँदा शैक्षिक सत्र चालु रहँदाको अवस्थामा वा भर्नामा छुटेका विद्यार्थीको संख्या थपिँदा जिल्लामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या करिब दुई लाखको हाराहारीमा पुग्ने देखिन्छ । शिक्षा नियमावलीअनुसार विद्यार्थी संख्याको अनुपातमा सम्बन्धित विद्यालयमा पढाउने शिक्षकको संख्यात्मक दरबन्दी कायम गरिनुपर्ने हुन्छ । सुनसरीको हकमा शिक्षा विकास तथा समन्वय समितिको आधिकारिक डाटाअनुसार विद्यार्थी संख्याका आधारमा तीन हजार ९०२ जना शिक्षक हुनु पर्दछ । तर, सुनसरीका ३७९ सामुदायिक विद्यालयमा शिक्षकको संख्या राहत कोटासहित दुई हजार ६५१ जना मात्रै छ। जसमा ७४१ जना राहत कोटामा कार्यरत छन्। । दरबन्दी मिलानमा अन्योल माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आए पनि सुनसरीमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । खासगरी शिक्षक दरबन्दी मिलान नहुँदा समस्या सिर्जना भएको इटहरी नगर विद्यालय निरीक्षक सेमन्त गौतमले बताए। लामो समय लगाएर तयार एउटा पद्धतिलाई चटक्कै त्यागेर पूर्व तयारीविना स्थानीय तहबाट सञ्चालन हुँदा व्यस्थापन चुनौतीपूर्ण उनको बुझाइ छ । स्थानीय तह गठनपछि शिक्षाको क्षेत्राधिकार मातहतका स्थानीय सरकारमा गएको छ। स्थानीय सरकारले शिक्षासम्बन्धी नीति नियम, दरबन्दी मिलान र समायोजनलगायतको पक्रिया अघि बढाउने भनिए पनि संघीय शिक्षा ऐन तथा नियमावली बाझिन पुग्दा दरबन्दी मिलान र समायोजन प्रक्रिया अन्योल रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख गोविन्दप्रसाद पोखरेलले बताए । संघीय र स्थानीय तहबीच शिक्षा ऐन तथा नियमावली कार्यान्वयन र लागू गर्ने सम्बन्धमा कानुन बाझिएकाले स्थानीय तहमा रहेका विद्यालयहरुको हकमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख पोखरेलको भनाइ छ ।

