चुलाचुलीमा महिला समन्वय समितिमा भीमा पौडेल

पुष १३, चुलाचुली/ इलाम चुलाचुलीको गाउँपालिकास्तरीय महिला समन्वय समिति गठन भएको छ । भीमा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन भएको हो ।
गाउँपालिकाभित्र महिलाको क्षेत्रमा काम गर्न पालिकाले स्वीकृत गरेको महिला समन्वय समिति गठन तथा संचालन कार्यविधि २०७९ बमोजिम समन्वय समिति गठन भएको हो ।
कार्यविधि बमोजिम समन्वय समितिका पदाधिकारी र सदस्यहरु गाउँकार्यपालिकाको बैठकले मनोनित गरेको हो । बैठकले समितिका उपाध्यक्षमा सन्तु लिम्बु, सचिवमा कला केरुङ, सहसचिवमा इश्वरा निरौला र कोषाध्यक्षमा गीता पुरी मनोनित भएका छन् ।
सदस्यहरुमा हिमा भट्टराई, उमा राई, गोमा मिश्र, शान्तकला राई, सोनी श्रेष्ठ, सरीता राई, सृजना तामाङ र निरुता बाँस्कोटा मनोनित भएका छन् ।
समितिकी अध्यक्ष पौडेललाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराए अध्यक्ष केरुङले सो अवसरमा गाउँपालिकाभित्रका महिलाहरुको सामुहिक हितमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन भएको जानकारी गराउँदै गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्न सुझाव दिए ।

