बालिका मृत्यु प्रकरण = सहमतिपछि शव उठ्यो

विराटचोक, माघ १५/ विराटचोक– विराटनगर सडक खण्डमा पर्ने बेलेपुरनजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएको घटनाको विषयमा सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएको छ। सहमति पछि आजै साँझ मृतक बालिका लक्ष्मी ढकालको शव पोष्ट मार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। सहमतिपछि पूर्व पश्चिम राजमार्ग लगायत विराटचोकबाट दक्षिणतर्फ दोहोरो सवारी साधन सुचारू भएको छ भने जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी निषेधित क्षेत्र आजै ८ बजेदेखि हटाइने भएको छ। नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले सो सडकमा हाललाई टिपर संचालनमा पूर्ण रोक लगाउने, पीडित परिवारलाई क्षतिपूर्तिको पहल नगरपालिकाले गर्नेलगायतका विषयमा सहमति गरेको हो।

