६२ वटा पुल निर्माणको योजनसहित अघि बढ्यो प्रदेश १ सरकार, धमाधम शिलान्यास

विराटनगर / प्रदेश १ सरकारले घोषणाअनुसार पुल निर्माणको काम सुरु गरेको छ। स्वीस सरकारको प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमा अरुण, तमोर, सुनकोसीलगायतका ठूला तथा साना नदीमा ६२ वटा पुल निर्माण गर्ने सरकारले घोषणा गरेको थियो। करिब ५९ करोड रुपैयाँ लगानीमा उक्त संख्याको पुल निर्माणको लागि काम भइरहेको प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सडक तथा पुल निर्माण विभागका उपसचिव रेवती पराजुलीले जानकारी दिए। ‘हालसम्म पाँच वटा पुलको ठेक्का लागिसकेको छ, ८० प्रतिशतको हाराहारीमा सर्भे डिजाइनको काम सम्पन्न भएको छ,’ पराजुलीले भने, ‘चालु आर्थिक वर्ष्भित्रै ६२ वटै पुलको ठेक्का लगाएर काम सम्पन्न गर्ने लक्ष्य लिएका छौं।’ पुल निर्माणका लागि स्वीस सरकारले प्राविधिक सहयोग गरिरहेको छ। इटहरीमा रहेको स्थानीय सडक पुल सहयोग इकाइबाट डिजाइन स्वीकृत गरेपछि ठेक्काको प्रक्रिया सुरु हुने मन्त्रालयका विभाग प्रमुख पराजुलीको भनाइ छ। मोरङको उर्लाबारी र मिक्लाजुङको सीमानामा पर्ने मिक्लु खोलामा पुल निर्माण शिलान्यास गरिएको छ। शिलान्यास प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले गरे। सात करोड २५ लाख ४९ हजार ७६० रुपैयाँ लागतमा निर्माण हुने पुल महावीर किरातेश्वर जेभीले ठेक्का पाएको छ। २४ महिनाभित्र सक्ने लक्ष्यका साथ सुरु भएको मिक्लु खोलाको पुल स्थानीयको सहयोग पाए २० महिनाभित्रै हस्तान्तरण गर्ने निर्माण कम्पनीको दाबी छ। ८६ दशमलव ६० मिटर लामो उक्त बस्क बृज निर्माण भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का लगाएको हो। लामो समयदेखि स्थानीयले उक्त खोलामा पुल निर्माण हुनुपर्ने माग गर्दै आएका थिए।

