करेन्ट लागेर झापामा हात्तीको मृत्यु

असार १४, २०७६ भद्रपुर / झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान मृत हात्ती फेला परेको छ। हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए। सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो। जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ। हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए। जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन्।


Facebook Comments Box