प्रदेश नम्बर १ सरकारले आयुर्वेद उद्योग खोल्दै

प्रदेश नम्बर १ सरकारले आयुर्वेद उद्योग सञ्चालन गर्ने भएको छ । त्यसका लागि १४ वटै जिल्लामा जडिबुटीको अवस्थाबारे प्रारम्भिक सर्वेक्षण थालिएको सामाजिक विकास मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक शाखा प्रमुख सरोजप्रसाद विशालले जानकारी दिए ।


प्रदेशले सामाजिक विकास मन्त्रालयमार्फत विज्ञ टोली गठन गरी जिल्लाहरूमा पठाएको छ, र आगामी असारभित्रै सर्वेक्षणको प्रतिवेदन बुझाएपछि आयुर्वेदका लागि कुन उद्योग सञ्चालन गर्ने टुंगो लगाएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण हुनेछ । ताप्लेजुङ, इलाम, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ, उदयपुर र ओखलढुंगाको स्थलगत अध्ययन भइसकेको छ, भने बाँकी जिल्लामा चाँडै अध्ययन गरिने जनाएको छ । उद्योग स्थापनाका लागि सम्भावित क्षेत्रका रूपमा मोरङको कटहरी गाउँपालिकामा ठाउँसमेत खोजेको छ । अन्य जिल्लामा जडीबुटी खेती तथा संकलन, प्रशोधन केन्द्र पनि स्थापना गर्न सकिने भनिएको छ ।
प्रदेश १ मा पाइने प्रमुख जडीबुटीहरूमा चिराइतो, मछिनो, सतुवा, नागबेलीलगायत छन् । गत वर्ष वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सातवटै प्रदेशमा वन पैदावारमा आधारित उद्योग सञ्चालन गरिने घोषणा गरेका थिए । सोही नीति अनुसार प्रदेश १ मा आयुर्वेद उद्योग सञ्चालन गरिन लागिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाले बताए । ‘उद्योग प्रदेश र संघीय सरकारको सहकार्यमा स्थापना हुन्छ,’ उनले भने ।
केही समयअघिसम्म परम्परागत ढङ्गबाट मात्रै चलेको आयुवेर्दिक औषधि उत्पादन वैज्ञानिक बन्दै गएको छ । अहिले आयुवेर्दिक औषधि उद्योगले पेटेण्ट (विशेष रोग निदानका लागि तोकिएको औषधि) औषधि उत्पादन गर्न थालेका छन् । यसअघि शास्त्रीय विधिबाट आयुर्वे्दिक औषधि उत्पादन हुने गरेको थियो । यस्ता उद्योगले पेटेण्टमा झोल, टयाबलेट र पाउडर गरी तीन तरीकाले औषधि उत्पादन गर्ने गरेको सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
सरकारीस्तरबाट सिंहदरबार वैद्यखाना विकास समितिले आयुर्वे्दिक औषधि उत्पादन गर्दै आएको छ । सिंहदरबार वैद्यखाना आयुर्वे्दिक औषधि उत्पादन गर्ने देशकै पुरानो संस्था हो । यो ३ सय ७० वर्ष पहिलेदेखि सञ्चालनमा आएको मानिन्छ ।