मंसिर १३, २०७५ काठमाडौं / बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अझै पत्ता लागेका छैनन्। पछिल्लो समय यो घटनाको चर्चा केही धिमा भएको छ। साउन १० गते मारिएकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो। त्यसपछि देशभर न्याय देऊ भनेर प्रदर्शनसमेत भएका थिए। राजधानीमा पनि न्याय माग्दै प्रदर्शन र द्वीपप्रज्वलन भएका थिए। निर्मलाका आमाबुबा पनि काठमाडौं आएर प्रधानमन्त्रीदेखी नेताहरू र सामाजिक अभियन्ताहरूलाई भेटेका थिए। उनीहरू फर्किएसँगै प्रदर्शन केही मत्थर भएको थियो। यसबीच प्रहरीले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट र एक इन्स्पेक्टरलाई सेवाबाट बर्खास्त गरेको थियो। निर्मलालाई न्याय माग्ने विषयमा सामाजिक सञ्जालमा भने आवाज उठिरहेको थियो। यसैबीच बिहीबार राति निर्मलालाई न्याय माग्दै काठमाडौंका सडकमा रहेका बिजुलीका पोल र भित्तामा पम्पलेट टाँसिएको छ। ुसरकार भेटियो, न्याय भेटिएनु भन्ने सन्देशका साथमा अंग्रेजीमा ुन्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु होु भन्ने लेखिएको छ। यसरी भित्ता र पोलमा पोस्टर टाँस्ने ुप्रचार शैलीु भने वर्तमान सरकारको शैली हो। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरमा सामाजिक सुरक्षा घोषणाका अवसरमा ुनयाँ युगको सुरुवातु लगायतका नारा लेखिएका थिए। काठमाडौं, भक्तपुर र ललितपुरका सहरका मुख्य ठाउँमा पोस्टर टाँसिएका थिए। सामाजिक सुरक्षा घोषणा कार्यक्रममा प्रधानमन्त्रीले त्यस्तो गर्नुको कारण– सरकार छ भन्ने देखाउनु रहेको, भन्ने बताएका थिए। सोही प्रचार शैली अपनाउँदै केही युवाहरूले यो अभियान सञ्चालन गरेका हुन्। यसरी पोस्टर टाँस्ने युवाहरूले सरकारले निर्मलालाई न्याय दिन भुलेकाले आफूहरूले यो अभियान सञ्‍चालन गरेको बताए। नाम बताउन नचाहने युवाका अनुसार सरकारले अपराधीलाई पक्राउ गर्न ढिलाइ गरेको र पछिल्लो समय यो विषयमा आवाज उठ्न छोडेकाले पोस्टर टाँस्नुपरेको हो। विभिन्न पेसामा संलग्न रहेका युवाहरूले पैसा उठाएर पम्पलेट छपाएर टाँसेको र अबका दिनमा सार्वजनिक तथा निजी सवारी साधनमा पनि टाँस्नका लागि स्टिकर बनाउने बताए। उनीहरूले यसो गर्नुका पछाडि सरकारका मन्त्री र उच्च अधिकारीले बाटोमा हिँड्दा देखून् र निर्मलालाई न्याय दिनुछ भन्ने नबिर्सिऊन् भनेर टाँस्नुपरेको बताएका छन्।

Facebook Comments Box