दमक /   शहरी विकास मन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले प्रदेश सभा र संघीय संसद्को निर्वाचन मसिंरमा नभए फागुनमा हुने बताएका छन् ।

शुक्रबार झापाको दमकमा आयोजित प्रेस संगठनको पत्रकार भेटघाटमा बोल्दै मन्त्री चौधरीले मंसिरमा निर्वाचन नहुने भए फागुन महिनामा हुने बताएका हुन् ।

उनले मुलुकमा हाल कायम ५ दलीय सत्ता गठबन्धन आगामी निर्वाचनमा ६ दलीय गठबन्धनका रुपमा बिकास हुने दावी समेत गरे । जनता समावादी पार्टीबाट अलगिएर बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)समेत सत्ता गठबन्धनमा सामेल हुने मन्त्री चौधरीको दावी थियो ।

उनले भने –‘लोकतन्त्र, संघीयता र संविधानको रक्षाका निम्ति आवश्यकता अनुसार यो गठबन्धन निर्वाचनसम्मका लागि मात्रै होइन, अरु १०–१५ बर्ष सम्म पनि जान सक्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा बोल्दै चौधरीले ढाँट्न माहिर एमाले अध्यक्ष ओलीलाई सर्वाधिक ढाँटको उपाधि दिनुपर्ने भन्दै ठट्टा गरे । उनका अनुसार ओलीले कार्यकर्ता र एमालेका सांसदहरुलाई ढाँटेर एक्लै ठूलो पार्टी बनेको भनेर भ्रम छरेको टिप्पणी गरे ।

मन्त्री चौधरीले शुक्रबार दमक र आसपासका विभिन्न विकासे कामहरुको निरिक्षण गरेका थिए । उनले दमक ४ मा निर्माणाधीन दमक भ्यू टावर, फाल्गुनन्द सभा गृह भनी शिलान्यास भई नाम परिवर्तन गरी निर्माण भएको दमक सभा गृह, कमल ५ को निर्माणाधीन आदिवासी रंगशाला तथा स्मृति पार्क, दमक १० स्थित इन्द्रेणी तालको स्थलगत निरिक्षण गरेका प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राईले हरप्रहर न्यूजलाई बताए ।

Facebook Comments Box