भद्रपुर/  प्रधानमन्त्री केपी शर्मा ओलीले आठ महिनाअघि शिलान्यास गरेको झापाको बिरिङ खोलाको पक्की पुल निर्माण अलपत्र परेको छ। पुल बनाउने ठेक्का लिएका निर्माण कम्पनी सम्पर्कविहीन हुँदा पुल निर्माण कार्य अलपत्रमा परेको हो। २०७५ वैशाख १८ गते झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका जोड्ने बिरिङ खोलामा जोड्ने पक्की पुलको प्रधानमन्त्री केपी शर्मा ओलीसहित सडक विभागका कर्मचारीको उपस्थितीमा तामझामका साथ शिलान्यास गरिएको थियो। त्यसपछि अहिलेसम्म सो स्थानमा निर्माण कम्पनीका प्रतिनिधि नआएको स्थानीयको गुनासो छ। २३ करोड ६९ लाखको लागतमा २०० मिटर लम्बाइ पुलको ठेक्का काठमाडौंको वाइबा इलाइट जेभीले लिएको छ। उसले तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भनी ठेक्का लिएको हो। ठेकेदार कम्पनीले लागत बढाउनका लागि पुल निर्माण कार्यमा ढिलासुस्ती गरेको सो क्षेत्रका पूर्वसांसद प्रेम गिरीले आरोप लगाए। ‘मोबिलाइजेसन बापतको रकम लिएर चलाउने, एलेभेन्थ आवरदेखि काम शुरु गर्ने, समयमा नसक्ने, अनि मूल्य समायोजनका लागि दबाब दिने परिपाटी अनुसार यो काम शुरु नभएको हो’ गिरीले भने, ‘निर्माण कम्पनीले बन्द हडतालका कारण काम गर्न पाएनौँ भनेर कागजात मिलाउन एकजना कर्मचारी नै राखेका हुन्छन्, यो नीतिगत भ्रष्टाचार हो, त्यसैले काम हुन सकेन।’ यता पुल विभागका प्रदेश प्रमुख अर्जुन अर्यालका अनुसार अरुभन्दा फरक भएकाले उक्त पुलको ठेक्का प्रक्रिया लम्बिएको बताए। विभागले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएर ठेक्का लगाएपछि निर्माण कम्पनिले फेरि डीपीआर बनाउनु पर्ने प्रक्रियाका कारण ढिलो प्रमुख अर्यालले बताए। ‘मलाई धेरै त थाहा छैन, ठेकेदार कम्पनीले तीन पटकसम्म डीपीआर बनाएर विभागमा पेश गरिसकेको सुनेको छु, अर्यालले भने, ‘विभागले चित्तबुझ्दो डीपीआर नभएका कारण फर्काएको हो, ठेकेदार कम्पनीबाट विभागको मापदण्ड बमोजिमको डीपीआर आएपछि स्वीकृत हुन्छ। त्यसपछि निर्माण कार्य सुरु हुन्छ।’ पुल विभागका महानिर्देशक अर्जुनजंग थापाले छिट्टै पुलको निर्माणको काम सुरु हुने बताए। पुलका लागि आवश्यक बजेट विनियोजन नभएको जानकारी दिँदै उनले भने, ‘अब बजेट निकासा गरेर निर्माण सुस नगरे निर्माण कम्पनिलाई कानुन बमोजिम कारबाही गर्छाैँ।’

Facebook Comments Box