झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित मेची इङ्लिस बोर्डिङ स्कुलले लिम्बु भाषामा पनि पठनपाठन गराउँदै आएको छ । कक्षा ३ र ४ का २६ छात्रछात्रालाई लिम्बु भाषामा अध्यापन गराइरहेको सञ्चालक बालकृष्ण चेम्जोङले बताए । ‘यो लिम्बु जाति बाहुल्य क्षेत्र हो’, उनले भने, ‘पढ्न आउने पनि धेरै यही जातिका भएकाले मातृभाषाको दख्खल होस् भन्ने उद्देश्यले अतिरिक्त विषयका रूपमा लिम्बु भाषा समावेश गराएका हौं । प्रत्येक सोमबार र मंगलबार दुईवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँ राखेर लिम्बु भाषामा लेख्न र बोल्न सिकाउने गरेको शिक्षिका सञ्चमाया लिम्बुले बताइन् । ‘कक्षा ३ र ४ का विद्यार्थी सिक्ने बेलाका हुन्छन्’, उनले भनिन्, ‘भनेको चाँडै बुझ्ने र लिन सक्ने भएकाले कक्षाका इच्छुक विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँछौँ .’ शिक्षिका लिम्बु अंग्रेजीमा पनि पढाउँछिन् । लिम्बु जातिको भाषा र लिपि संरक्षण गर्ने उद्देश्यले मेची बोर्डिङले ५० पुर्णाङ्कको ऐच्छिक विषय अन्तर्गत लिम्बु भाषामा अध्यापन गराएको विद्यालयका प्रिन्सिपल भीमप्रसाद भट्टराईले बताए । उनले भने, ‘आउँदा पुस्ताले मातृभाषा नसिकेकैले प्रयोग गर्न नजान्दा यो भाषा नामेट हुनबाट बचाउन लिम्बु भाषा पढाउन थालिएको हो ।’ झापाका अन्य निजी विद्यालयले मातृभाषाको विषयलाई प्राथमिकता दिएका छैनन् , तर, आफुहरूले भाषा संरक्षण गर्न चासो बढोस् भनेर प्रयास मात्र गरेको उनको भनाइ छ ।

Facebook Comments Box