’हामी फोहोर फाल्ने टोकरी होइनौँ’

माघ १७, २०७५ काठमाडौं / अचेल माइतीघर मण्डला हरेक वर्ग र क्षेत्रबाट सिंहदरबारतर्फ प्रश्न तेर्स्याउँने अखडा बनेको छ। काठमाडौंको मौसम चिसिए पनि हरेक दिनजसो हुने आन्दोलनका कार्यक्रमले माइतीघर भने तातिरहन्छ। विगत १९ दिनदेखी यस क्षेत्रमा ’द्वन्द्बपीडित सुरक्षाकर्मी परिवार’ शान्तिपूर्ण आन्दोलनले पनि यसलाई तताइरहेको छ। द्वन्द्बपीडित सुरक्षाकर्मी परिवारको २१ बुँदे मागमा सशस्त्र द्वन्द्बपीडित सुरक्षाकर्मीहरूको न्याय, सम्मान, सुविधा,अवसर, हित र चारवटै सुरक्षा निकायका पीडितको सम्मान अधिकारका लागि आन्दोलनमा छन्। उनीहरू विगत १३ वर्षदेखि न्याय र सम्मानका लागि सरकार समक्ष आफ्ना माग तेर्स्याइरहेका छन्। तर सरकारले उनीहरूको कुनै पनि मागलाई सम्बोधन नगरेकोमा द्वन्द्बपीडित सुरक्षाकर्मी परिवारहरू चरणवद्ध आन्दोलनका लागि एकै ठाउँमा जम्मा भएका हुन्। अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका समेत गरी झन्डै ४ हजार पीडित परिवारका मानिस एकजुट भएका छन्। तिनै मध्येका एक हुन् पूर्ण पाइजा। युवा जोश र देशभित्रै केही गर्ने उच्चमनोवलका साथ उनी विस २०५२ सालमा नेपाल प्रहरीमा भर्ती भए। ’नेपालगंजबाट नेपाल प्रहरीमा जागिरे भएका उनको स्थायी घर बर्दिया हो। त्यसैबेला देशमा तत्कालिन माओवादीले सशस्त्र विद्रोह थालेको थियो। शान्ति सुरक्षाका लागि उनलाई सरकारले विभिन्न जिल्लामा खटायो। देशका विभिन्न क्षेत्रमा सुरक्षाका खातिर सरूवा भएर जाने क्रममा रूकुम पुगे उनी। वि.स २०५४ सालमा भएको स्थानीय निकायको चुनावका बेला माओवादीले राखेको धरापमा घाइते भएका थिए। उनको टाउकोमा गोली थियो। दाइने कानमा प्वाल परेको थियो। यद्यपि देश र जनताको लागि आफ्नो घाइते शरीरबाट उठेर उनी पुनस् हतियार बोके अनि कार्यक्षेत्रमा लागे। विस २०५८ सालमा माओवादीले दाङमा आक्रमण गरे। त्यहाँ पनि उनी ड्युटिमा थिए। १४ जना सहकर्मीको घटनास्थलमा मृत्यु भयो। उनी लगायत अन्य प्रहरी माओवादीको कब्जामा परे। उनी सम्झन्छन्, ’आँखामा पट्टि लगाएर कुटपिट गरियो।’ सबेरै उनीहरूलाई माओवादीले छोडिदिए। त्यसबेला उनको घाटीमा गोली लागेको थियो। जसोतसो उनी मृत्युको नजिक पुगेर फर्के। उनी सरूवा भएर फेरि कैलाली पुगे २०५९ सालमा। कैलालीको लम्की बजारमा पुन माओवादीले थापेको विद्युतीय धरापमा उनी परे। त्यति बेला नेपाल प्रहरीका दुई जवानको मृत्यु भएको थियो। उनको बायाँ कानको जाली फुट्यो। समय समयमा आक्रमणमा परिरहे पनि उनी बाँच्न सफल भए। मान्छेको ठुलो उपलब्धि बाँच्नु हो। यो कुरालाई उनी स्वीकार्छन्। तर घाइते शरिर बोकेर बाँच्नु मात्र सन्तुष्टि र खुशीको आधार होइन। देशलाई रगत दिएपछि सरकारबाट आफूहरूलाई ससम्मान स्वरूप राहत दिनुपर्ने बताउँछन्। द्वन्द्बपीडित सुरक्षाकर्मी परिवारले निकालेको तथ्यांक अनुसार नेपाल प्रहरीबाट ५०० भन्दाबढी अपांग जीवन बाँचिरहेका छन्। सेनामा ३१५ जना छन्। सशस्त्र प्रहरीमा २१५ जना छन्। नेपाल भरि उनका अनुसार हजार भन्दा बढी राष्ट्रसेवक प्रहरीहरू अंगभंग भएका छन्। यस्तै घाइतेको संख्या पाँच हजार ६०० छ। शहीद हुनेको संख्या नेपाल प्रहरीमा एक हजार ४८८ जना रहेका छन्। सेनामा एकहजार १८ जना रहेका छन्। सशस्त्रमा ३०८ जना छन् भने अनुसन्धानका २३ जना रहेका छन्। आफूले बाँचेको घाइते जिन्दगी बोकेर हिड्दा पनि सरकारले कुनै पनि राहत नदिँदा अतित बल्झिरहेको पाइजा बताउँछन्। सरकारले आफ्ना माग पुरा नगरेपछि गृहमन्त्रालयसँग हारगुहार गरिरहेको पनि उनी बताउँछन्। उनी भन्छन्, ’ गृहमन्त्रीसँग भेट्न पनि हामीले पाएका छैनौं।’ गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले आफूहरूलाई गृहमन्त्रीसँग भेट्न नदिएको उनको गुनासो छ। संस्कार अनुसार किरीया समेत गर्न पाएको छैन सुर्खेतबाट आएकी अर्की महिला हुन् ममता नगाल। उनको श्रीमानको नाम हो कमल नगाल। उनको श्रीमान वि.स २०६१ साल असार ५ गते दाङको धान खोलामा एम्बुसमा परेर मृत्यु भएका हुन्। उनी सशस्त्र प्रहरीमा कार्यरत हुँदा उनको बिहे भएको थियो ममतासँग। उनको एकमात्र बच्चा छ। श्रीमानको मृत्यु हुँदा उनको छोरो नौँ महिनाको रहेको थियो भने उनी सत्र वर्षको थिइन्। उनको विवाह २०५७ सालमा भएको थियो। आफ्नो श्रीमान देश र जनताको लागि लडेर मृत्यु हुँदा आफुलाई केही नगरेको उनको गुनासो छ। जतिबेला द्वन्द्वकालमा भएको घटना पश्चात आफूलाई सान्त्वनास्वरूप विभागले त्यसबेला श्रीमानलाई लड्न जा तेरो परिवारलाई हामी हेर्छौ भनेर सानो सहयोग गरेको र त्यसपछि नेपाल सरकारबाट आफूले कुनै सहयोग नपाएको उनले बताइन्। उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै भनिन्, ’सरकारले हामीलाई बेबारिसे बनायो। फोहोर फाल्ने टोकरी जस्तो भयौं हामी।’ आफूहरूले सरकारबाट सम्मान राहत र न्याय दिनुपर्ने बताउने उनी आफूहरूलाई रद्दीको टोकरी नसम्झन सरकारसँग आग्रह गरिन्। अहिले उनका छोरा अहिले एघारमा पढ्छन्। एउटा देश र जनताका लागि भनेर आफ्नो श्रीमान भर्ती हुँदा आफू खुशी रहेको उनले बताइन्। बरू प्रहरी नभइ गाउँमै बितेको भए बरू गाउँमा खेतीपाति गरेर बाच्ने थिएँ। प्रहरी भइसकेपछि तत्कालीन माओवादीले गाउँमा बस्न नदिएर लखेटेको कारण आजसम्म गाउँ जान नसकेको पनि उनले बताइन्। त्यसबेला गाउँबाट लखेटिँदा र अहिले नेपाल सरकारले पनि आफूहरूलाई नहेर्दा एकदमै पीडित बनेको ममताको गुनासो छ। उनी भन्छिन्, ’हामी न गाउँको हुन सक्यौ। न राज्यको।’ श्रीमान युद्ध मैदानमा हुँदा माओवादीले आफूलाई विभिन मानसिक र शारीरिक यातना दिएको पनि गुनासो पोखिन उनले। श्रीमानलाई जागिरबाट छोड भन्नु नत्र तलाइ हामीले लिएर जान्छौं भनेर त्यसबेला आफूले मानसिक तनाव पाएको उनी बताउँछिन्। त्यसपछि गर्भवति रहेकै बेला आफू र परिवार गाउँबाट भागेको बताउँछिन्। गाउँ छोडेर सुर्खेत आएर बस्दा उनको श्रीमानको मृत्यु भएको खबर आयो। तर माओवादीले आफ्नो श्रीमानको किरीया गरिस् भने तलाई र छोरालाई पनि मारिदिन्छौं भनेर धम्की दिएको उनी बताउँछिन्। उनी भन्‍छिन्, ’ हिन्दु संस्कार अनुसार काजकिरीया गरेकी छैन।’ उनी अझै पनि माओवादी आएर मार्छ भन्ने त्रासबाट अझै मुक्त हुन नसकेको बताउँछिन्। सासु ससुराहरू पुनस्स्थापित भए पनि आफ“ अहिलेसम्म गाउँ जान नसकेको बताउँछिन्। उनी अहिले पनि सुर्खेतमै छिन्। आफूलाई राज्यले केही नगरेको कुरामा दुखी छिन्। आफूलाई गाउँ जाँदा विगतका दिनहरूले झस्काउने पनि उनले बताइन्। अहिले उनी गाउँमा सामान्य काम गरेर छोरा हुर्काइरहेकी छन्। सरकारले आफू जस्ता लगभग तीनहजार पीडित परिवारलाई राहतसँगै न्याय चाहिएको उनले बताइन्। राष्ट्रलाई दिएको आफ्ना श्रीमानको रगतको सम्मान चाहिएको उनले बताइन्। आफ्नो न्यून आर्थिक हैसियतका कारण पनि सडकबाट न्याय माग्न परिरहेको उनको दुखेसो छ। ममताको जीवनमा बादल मडारिएको वर्षौं भयो। द्वन्द्वकालमा ज्यान गुमाएका आफ्ना जस्ता कयौं सुरक्षाकर्मीलाई सरकारले सहीद घोषणा गरिदिनु पर्छ। उनी भन्छिन्, ’ बेबारिसे शहीद होइन। शहीद घोषणा गरेर सेवा सुविधा दिनुपर्छ। कसैलाई काखा कसैलाई पाखा नगरोस्। तेह्र वर्षदेखि न्यायको खोजीमा छन् उनी। उनी भन्छिन्, ’म कहाँ कहाँ पुगिन होला। तर कसैले पनि सहयोग गरेन।’ विभिन्न चरणमा विभिन्न मागहरूसहित आन्दोलन गरे पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनको दुखेसो छ।

बिहिबार, १७ माघ, २०७५, बिहानको १०:४७ बजे

सम्बन्धित खवर