प्रधानमन्त्री ओली पूर्व आउँदै, यस्तो छ दुई दिने कार्यतालिका

१७ चैत, २०७५ झापा / लगानी सम्मेलनमा व्यस्त बनेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार र सोमबार आफ्नो गृह जिल्लासहित पूर्वी क्षेत्रको भ्रमणमा निस्कँदै छन् । विभिन्न कार्यक्रममा सहभागि हुन उनी मोरङ र झापा जान लागेको उनको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सबैभन्दा पहिले राजधानीबाट विराटनगर जाने र सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेशन १ स्तरीय साहित्यीक र प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन र मदन भण्डारी रंगशाला सम्बन्धी सरोकारवालासँग छलफल र भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ । यस्तै सोमबार बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुपक्षी हाटको पनि उद्घाटन गर्नेछन् । प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गरी भद्रपुरबाट काठमाडौँ फर्कने छन् ।

