मोरङ, झापासहित काठमाण्डौमा पनि देखियो बर्ड फ्लुको सङ्क्रमण

फागुन १ /काठमाण्डौ / मोरङ, झापासहित काठमाण्डौमा पनि बर्ड फ्लुको सङ्क्रमण देखा परेको छ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ३ मा गोविन्द मगरले पालेको कुखुरामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार सङ्क्रमण देखिएको ठाउँको पक्षी नष्ट गरिनुका साथै निःसङ्क्रमण समेत गरिएको छ । थप सङ्क्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाण्डौमा २० वटा कुखुरा, पाँच वटा परेवा र तीन वटा लौकाट नष्ट गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।
कुखुरा मर्न थालेपछि शङ्का लागेर केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रियालटाइम पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएको क्षेत्रबाट एक हजार नौ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस र २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र तीन सय ५० वटा अण्डाको क्रेट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा देखिएको बर्ड फ्लु एचपीएआई, र एचफाईभ एन वान रहेको मन्त्रालयले जनाएको छ । यसअघि गएको शुक्रवार चितवनको राप्ती नगरपालिकाको पक्षीमा पनि बर्ड फ्लु सङ्क्रमण देखिएको थियो ।