विमल लामिछाने

दमक / एउटा सामाजिक अभियन्ताले दिनभर सडक आसपासका प्लाष्टिकका बोतल भेला गर्छ र बेलुका कबाडी संकलकलाई बेचेर जम्मा भएको पैसा संस्थाको नाममा भएको खातामा जम्मा गर्छ, भनेको सुन्दा तपाईलाई अनौठो लाग्नसक्छ, तर दमकलाई बेश बनाएर सामाजिक क्षेत्रमा काम गर्दै आएको जीवनचक्र समाज नेपालले दमकलाई सफा र सुन्दर नगर बनाउन अहिले यस्तो नयाँ अभियान शुरु गरेको छ । ‘प्लाष्टिकका बोतल संकलन गरौं, बोरामा हालौं, नगर सफा राखौं’ भन्ने नाराकासाथ प्लाष्टिकजन्य सामग्री संकलन अभियान शुरु गरेको हो ।

बजारका सडक आसपास फ्याकिएका प्लाष्टिकका बोतलहरु संकलन गर्ने यो कार्य झट्ट सुन्दा सामान्यजस्तो लाग्ने भएपनि नगर सफाईमा यसको विशेष महत्व रहने भएकाले आफूहरुले थालेको यो अभियानले सार्थकता पाउनेमा विश्वस्त रहेको जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतमले बताए । उनले भने– ‘हाम्रो संस्थाले यो अभियान शुरु गरेको १५ दिनमात्र हुँदैछ, शूरुमा अलि अप्ठ्यारो लागेपनि अहिले चौतर्फी प्रशंशा पाउनका साथै अभियान सफल बनाउँन साथीहरुको साथ र सहयोगसमेत पाउँदै जाँदा उत्साह पनि बढ्दै गइरहेछ ।’
संस्थाले अहिले दमक बजारका क्षेत्रहरु हेङआउट जुस सेन्टर अगाडी, ट्याक्सी स्टेण्ड खाजाघर अगाडी र बजारका विभिन्न स्थानमा प्लाष्टिकका बोतल संकलन गर्न सार्वजनिक स्थलमा बोरा राखिदिएको छ, जसमा जम्मा भएका र दिनभर भेला गरिएका बोतलहरु बेलुका प्रतिकेजी २० रुपैयाँमा विक्री गरेर संस्थाको नाममा खोलिएको खातामा पैसा जम्मा गर्ने गरेको अध्यक्ष गौतमले बताए ।

शहर फोहोर हुनका कारणहरुमध्ये पानी पिएर जथाभावी फ्याकिने प्लाष्टिकका बोतलहरु एउटा कारण भएको अध्यक्ष गौतमको बुझाई छ । प्लाष्टिकका बोतलहरुले नाली भरिँदा नालीमा पानी सहज बग्न नसक्ने र दुर्गन्ध बाहिर आउने गर्दछ, खैनी र गुट्का खाएर फ्याकिएको प्लाष्टिकपनि वातावरण फोहोर बनाउँने अर्को कारण भएको उनले बताए । बजारका पसलहरुबाट निष्कने कागज, कपडाका कुट्का र प्लाष्टिकका झोलाहरुले बातावरण फोहोर हुँदै जाने भएकाले यस्ता मानवश्रृजित र पसलबाट उत्पादित फोहोरजन्य बस्तुहरु डसविनसम्म पुर्याउन र ब्यवस्थापन गर्न पसले स्वयम् सक्रिय हुनुपर्ने उनको बुझाई छ । यसको अलावा नगर सफा राख्न राजनीतिक दलहरुको पनि उत्तिनै भूमिका रहनुपर्ने देखिन्छ, कतिपय राजनीतिक दलहरु बजार आसपासमा भेला, सेमिनार, गाष्टी र सभा सम्मेलन जस्ता कार्यक्रम गर्छन् र झण्डा ब्यानरका कपडा र च्याप्ने भाटासमेत छोडेर हिड्छन्, यो लज्जाको विषय हो, उनले भने ।

सडक दूर्घटना न्यूनीकरण, सडकमा मरेका कुकुरहरु ब्यवस्थापन गर्ने, रक्तदान, सरसफाई, वृक्षरोपण, सडक आसपास गमला रोप्ने जस्ता जनचेतनामूलक काम निश्वार्थ गर्दै आएको यो संस्था २०७१ साल माघदेखि सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ भने २०७५ भदौ ४ गतेदेखि दर्ता भई संस्थागत रुपमा काम गर्दै आएको छ ।

Facebook Comments Box