संखुवासभा /   संखुवासभामा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए।

५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको अस्पताल सूचना अधिकारी खत्रीले बताए। न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो।

जिल्ला अस्पतालमा खाँदबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेंगु पुष्टि भएको थियो। न्यौपानेलाई डेंगुसँगै उनलाई निमोनिया पनि देखिएको थियो। जिल्लामा यो वर्ष २२ जना डेंगु संक्रमित भेटिएका छन्। गत वर्ष संखुवासभामा ६९ जना डेंगु संक्रमित भेटिएका थिए। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले सचेत हुन अस्पतालले आग्रह गरेको छ।

Facebook Comments Box