कर्कट सङ्क्रान्ति पर्व स्नान, दान गरेर लुतो फाल्ने दिन

दमक, साउन १/ सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन्। एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए ।


लुतो फाल्ने दिन
श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत-जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो । यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरुमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्याधिक हुन्छ । साउने संक्रान्तिलाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गर्इ शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ।