झापा / झापामा डेंगुका विरामी बढ्न थालेका छन् । श्रोतका अनुसार झापामा २७ जना डेंगुका विरामी फेला परेको बताइएको छ । मंगलबार जिल्लामा भएको एक छलफलमा स्वास्थ्य कार्यालय झापाले सो संख्याका विरामी फेला परेको जानकारी गराएको छ ।
झापामा लामखुछ्टे धपाउन नगरैपिच्छे फरक फरक अभियान चलेका छन् । कतै भाषणमात्रै भए भने कतै अन्तरक्रिया र कतै र्याली । विषादी छिट्ने भन्दा भाषण गर्नेकै बाहुल्य देखियो । लामखुट्टे भगाउको राष्ट्रिय अभियानलाई कतिपय पालिकाले भाषणमात्रै गरेर औपचारिकता पूरा गरेका छन् भने कतिपय पालिकाले र्याली निकालेर औपचारिकता देखाए ।
मेचीनगरमा पनि ९ जना डेंगुका विरामी फेला परेको बुझिएको छ । उनीहरु स्थानीय अस्पतालमा उपचार गराईरहेका र कोहि घर फर्किएको श्रोतले जनाएको छ । मेचीनगर नगरपालिकासँग भने सो संख्यामा विरामी भएको आधिकारिक डाटा छैन ।

डेंगुका विरामीमा टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने, शरिर कमजोर हुने लगायतका लक्षण देखिन थालेको छ । मेचीनगरमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि केहि दिनदेखि वडा–वडामा माईकिङ र प्रचारप्रसार गरिरहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताइन् ।

उनका अनुसार मंगलबारदेखि मेचीनगर–६ नम्बर वडाको डेंगु जोखिम क्षेत्र भएको बसपार्क, होटल लगायतमा विषादी छिट्न सुरु गरिएको छ । काँकरभिट्टाको विभिन्न जोखिम क्षेत्रमा विषादीसहितको ट्याङ्की बोकेर ४ जना व्यक्तिहरु ज्यालादारीका रुपमा खटिएका छन् । त्यसको समन्वय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले गरिरहेका छन् । पहिलो चरणमा डेंगु जोखिम क्षेत्र काँकरभिट्टा, धुलाबारी र चारआलीमा विषादी छिट्ने कार्य गरिने सापकोटाले जानकारी दिइन् ।

Facebook Comments Box