दोहा: स्वीट्जरल्यान्डले आज समूह ‘जी’को पहिलो खेलमा अफ्रिकी प्रतिद्वन्द्वी क्यामरुनसँग खेल्दै विश्वपकको सुरुआत गर्नेछ।
अल जानोब रंगशालामा उत्रिँदा युरोपेली मुलुक स्वीट्जरल्यान्ड विश्वकपको पहिलो खेलमा अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।

सन् १९६६ मा जर्मनीसँग ५-० ले पराजय भएयताका विश्वकपमा स्वीट्जरल्यान्डले पहिलो खेलमा पराजय भोग्नु परेको छैन।

त्यति मात्रै होइन, ब्राजिलमा आठ वर्षअघि र चार वर्षअघि रुसमा नकआउट चरणमा पुगेको स्वीट्जरल्यान्ड लगातार तेस्रो पटक समूह चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। प्रतिस्पर्धात्मक देखिएको समूह ‘जी’बाट शीर्ष दुईमा स्थान बनाउन स्वीट्जरल्यान्डले पहिलो खेलमै अंक गुमाए कठिन बन्ने छ।

विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भमा दोस्रो पटक अफ्रिकी टिमको सामना गर्न लागेको स्वीट्जरल्यान्ड अनुभवी खेलाडीमा निर्भर हुनेछ। यसअघि सन् २००६ को विश्वकपमा स्वीट्जरल्यान्डले टोगोसँग खेलेको थियो।

उपकप्तान शेर्डन शकिरी युरोपेली फुटबलको स्तरबाट अमेरिकी मेजर लिग सकरतिर झुकेका छन्। तर, राष्ट्रिय टिमबाट शकिरीले पछिल्ला चार ठूला प्रतियोगितामा ४८ प्रतिशत गोल गर्ने खेलाडीको सूचीमा संलग्न छन्। स्वीट्जरल्यान्डले पछिल्ला चार ठूला प्रतियोगितामा गरेका २३ गोलमा शकिरीको आठ गोल र तीन असिस्ट छ।

चौथो पटक विश्वकप खेल्ने तयारीमा रहेका शकिरी अन्य टिमको तुलनामा स्वीट्जरल्यान्ड कमजोर भएको संकेत गर्छन्।

‘तर, कोही अन्डरडग्स हुन्छ र अप्रत्यासित नतिजा दिन सक्छ,’ शकिरी भन्छन्, ‘त्यो कुन टिम हुन्छ हामी हेर्छौं, मलाई आस छ, त्यो टिम स्वीट्जरल्यान्ड हुनेछ।’

क्यामरुन आठौं विश्वकप खेल्न मध्यपूर्वी मुलुक कतार पुगेको हो। जुन, अफ्रिकी मुलुलको सर्वाधिक सहभागिता हो। यद्यपि, विश्वकपमा गोल गर्ने सूचीमा भने नाइजेरिया अगाडि छ। क्यामरुनले १८ गोल गर्दा नाइजेरियाले २३ गोल ठोकेको छ।

क्यामरुनले विश्वकपमा पछिल्ला सात खेलमा पराजय भोगेको छ। जुन विश्व फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगितामा दोस्रो खराब नतिजा हो। सबैभन्दा खराब नतिजा उत्तर अमेरिकी मुलुक मेक्सिकोको नाममा छ। सन् १९३० देखि १९५८ सम्म मेक्सिकोले लगातार ९ खेमला पराजय भोगेको थियो।

रिगोबर्ट सङको क्यामरुनका लागि आकर्षणको केन्द्रमा ब्रायन एम्ब्युमो हुनेछन्। फ्रेन्च टिमबाट उमेर समूहका प्रतियोगिता खेलेका एम्युम्बोले गत अगस्टमा मात्रै राष्ट्रियता परिवर्तन गरेका थिए।

Facebook Comments Box