भद्रपुर गोल्डकप : मेची रंगशालाले पुनर्जीवन पाउँदै

झापा, ४ पुष / नेपालकै पुराना गोल्डकप मध्येमा पर्ने भद्रपुर गोल्डकपले १८ वर्षपछि निरन्तरता पाउने भएको छ। २०६१ सालपछि यो गोल्डकप हुन सकेको थिएन।
प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी मेची रंगशालाप्रयोगविहीन बनेको थियो। एक साताअघि भद्रपुर नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाएर तयारी अघि बढाइएको छ। ओझेलमा परेको रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको अध्यक्ष ढकालले बताए ।
भद्रपुर नगरपालिकाका निर्वतमान प्रमुख जीवनकुमार श्रेष्ठलाई महासचिव तोक्दै सचिवालय सञ्चालनमा आएको छ। आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ। जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरेको अध्यक्ष ढकालले जानकारी दिए।
खेल मैदानमा दुबो रोप्ने काम भइरहेको छ। समितिले पार्किङका लागि आवश्यक ठाउँसमेत तयार पार्दैछ। भद्रपुर नगरपालिकाको संरक्षणमा हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहनेछ। भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
फागुन दोस्रो साता हुने गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ६ लाख रुपैयाँ पाउने महासचिव श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजक समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिरहेको छ।

