कुनै चिकित्सकले जीवित शिशुलाई मृत घोषण गरेपछि कस्तो होला? यस्तो अवस्थाको कल्पना गर्न पनि कठिन हुन्छ । तर बुधबार विराटनगरको कोशी अस्पतालमा उपचाररत एक नवजात शिशुलाई डाक्टरले मृत घोषित गरिदिएपछि उपचारका संलग्न चिकित्सकहरु कुटिएका छन्। कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर ल्याएको जीवितै नवजात शिशुलाई मृत घोषणा गरिदिएका थिए। त्यहीकारण उनले कुटाइ खानुपरेको छ।
श्वासप्रश्वासमा समस्या भएपछि अस्पाल ल्याइएको १८ दिनको शिशुलाई डाक्टर यादवले बुधबार बिहान राम्रोसँग स्वास्थ्योपचार नगरी मृत घोषणा गरिदिएका थिए । मोरङको जहदा गाउँपालिका–३ भात्तिगञ्जकी उमा मुखियाले गत पुस १७ गते कोशी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्।

नर्मल डेलिभरी भएर छोरीलाई जन्माएका नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो। अस्पतालमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो । विराटनगर महानगरपालिका-८ मधुमारा माइती रहेकी मुखियाले छोरीलाई जन्म दिएपछि अस्पतालबाट निस्केर त्यहीँ बस्दै आएकी थिइन्। उनका श्रीमान् दिलिप मुखिया हुन्। उनी एम्बुलेन्स चालक पनि हुन्। मुखिया कोशी अस्पताल बाहिर बस्ने गर्दछन्।

छोरीको श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पत्तिले बुधबार बिहान ८ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लगेका थिए। ड्युटीमा मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी थिए।

उनीहरूको ड्युटी समय बिहान ८ देखि दिउँसो २ बजेसम्म हो। आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले स्वास्थ्य जाँच गरेका थिए। ‘त्यसपछि हामीलाई डा. यादवले भने, ‘छोरीको श्वास छैन। घर लैजानू,’ मुखियाले भने। डाक्टरले यति भनेपछि श्रीमती उमा र आफन्तहरूबीच आकस्मिक कक्षबाहिर रुवाबासी सुरु भएको थियो। तर यहीबीच मृत घोषित नवजात शिशुले हातखुट्टा हल्लाएपछि उनी जीवितै रहेको आफन्तले बुझेका थिए।

‘मेरी जिउँदै छोरीलाई डाक्टरले लापरवाही गरेर मृत भनिदिएको रहेछ,’ बुवा दिलीपले भने, ‘बिरामीको उपचारमा लापरबाही गर्ने यस्ता चिकित्सकलाई कडा कारबाही हुनुपर्छ।’ अहिले दिलीपले छोरीको उपचारको विराटनगरकै गोल्डेन अस्पतालमा गराइरहेका छन्।

एनआईसीयूमा राखेर उपचार सुरु गरिएको शिशुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको उचारमा संलग्न चिकित्सकले बताएको दिलीपले जानकारी दिए।

मृत घोषणा गरेको शिशु जीवित भएको बाहिरिएपछि आक्रोशित आफन्तले कोशीका डा. आकाशलाई कुटपिट गरेका छन्।

कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ। चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्का एक जना नाम नखुलेका व्यक्तिलाई नियन्त्रणमा लिएको दिलीपले बताए। कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारयण यादवले घटनाबारे बुझने काम भइरहेको बताए। ‘शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन थिएन। श्वास पनि चलेको नदेखिएको उपचारमा संलग्न चिकित्सकले भनेका छन्, त्यसबारे बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरवाही भएको पाइए एक्सन लिनेछौँ।’

Facebook Comments Box