दमक/ यहि माघको तेश्रो साता दमकमा तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बेलायतमा मुख्य कार्यालय रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेपालस्थित आफना डोजाङका प्रशिक्षार्थी खेलाडीहरुबीच अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता दमक ५ स्थित सर्वोदय बोर्डिंङ स्कूलको खेल मैदानमा हुने छ । प्रतियोगिताका बारेमा आज दमकमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको हो ।
पत्रकार सम्मेलनमा सगरमाथा मार्सल आर्ट एकाडेमीका संस्थापक एवं मार्सल आर्टका अन्तराष्ट्रिय खेलाडी समेत रहेका दमक निवासी प्रशिक्षक राष्ट्र राईले सगरमाथा तेक्वान्दो डोजाङ्गमा आवद्ध खेलाडीहरुको प्रोत्साहन र खेल प्रतिभा विकासका लागि बेलायतमा रहेका संघसंस्था तथा खेलप्रेमीहरुको सहयोगमा सो प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा लाग्ने झण्डै पाँच लाख रुपैया बजेट बेलायतस्थित खेल सम्बद्ध तथा अन्य खेलप्रेमी दाताहरुको सहयोग रहेको जनाईएको छ ।
उनका अनुसार प्रतियोगिताको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गर्ने छन् । पत्रकार सम्मेलनमा सगरमाथा डोजाङकी नेपालस्थित प्रशिक्षक बिद्या राईले प्रतियोगितामा सगरमाथा तेक्वान्दो डोजाङको दमक र उदयपुर शाखामा प्रशिक्षार्थीका रुपमा रहेका १८ देखि ५० केजी सम्मको तौल समूहका कूल ७० जना खेलाडी बिद्यार्थीहरुले भाग लिने जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा दमकस्थित सो डोजाङका व्यवस्थापक जितु धिमालले प्रतियोगिताले स्थानीय खेलाडी प्रतिभाहरुको बिकास र उजागर गर्नमा योगदान दिने विश्वास गरिएको बताए । सो अवसरमा दमकका सामाजिक तथा राजनीतिक युवा व्यक्तित्व पर्शुराम रिजालले सगरमाथा डोजाङले बेलायतमा मुख्य कार्यालय स्थापना गरेर पनि दमकमा शाखा सञ्चालन गरि दमकको खेलकुद बिकासमा दिएको योगदानको उच्च प्रशंसा गरे ।
आयोजक संस्थाले प्रतियोगिता आयोजना गर्ने प्रयोजनका लागि बेलायतमा रहेका संघ संस्था र खेलप्रेमीहरुले सहयोग गर्ने तत्परता देखाएकोप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।
यसैबीच बेलायतमा मुख्य कार्यालय स्थापना गरेर दमक र उदयपुरमा शाखा सञ्चालन गर्दै आएको दमक सगरमाथा तेक्वान्दो डोजाङलाई नेपाल तेक्वान्दो संघले तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्न अनुमति दिएको छ ।
संघको ललितपुर सातदोबाटोस्थित केन्द्रिय कार्यालयले ४ माघमा राष्ट्रकुमार राई मुख्य प्रशिक्षक रहेको सो डोजाङलाई तेक्वान्दो संघमा आवद्धतासहितको प्रमाण पत्र प्रदान गरेसंगैको सगरमाथा डोजाङले तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्न पाउने बैधानिकता पाएको हो ।

Facebook Comments Box