सहकारी जगतमा दमकको मेची सहकारीले गरेको काम नमुना भएको छ – अध्यक्ष ओली

दमक/ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी जगतमा दमकको मेची सहकारीले गरेको काम नमुना भएको भन्दै सहकारीको प्रशंसा गरेका छन ।
झापाको दमक ४ मा मेची सहकारी संस्थाले निर्माण गरेको मेची आवास क्षेत्र हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सहकारी संस्थाहरुको माध्यमबाट कम पैसा भएका नागरिकहरु समेत घरका मालिक बन्न सक्छन भन्ने नमुना मेची सहकारीले प्रस्तुत गरेको पनि बताए ।
उनले तुलसी सहकारीका पीडितहरुको डेलिगेशन समेत आफूसँग आएको बताउँदै सर्वसाधारणलाई ठगी गर्न खोलेका सहकारी र वास्तविक रुपमानै सहकारीताको अभ्यास गरिरहेका सहकारीहरुको पहिचान गरेर मात्रै कारोबार गर्न सुझाए ।
नाफा कमाउन, कम्पनीका रुपमा खोलिएका सहकारी पनि छन, सहकारीकै रुपमा पनि सहकारी चलेका छन – अध्यक्ष ओलीले भने । उनले कृषि क्षेत्रमा सहकारीका माध्यमबाट ठुलो परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन सहकारीकर्मी र अभियान्ताहरुलाई आग्रह गरे ।
सो अवसरमा अध्यक्ष ओलीले मेची आवासका घरहरु निर्माण सम्बन्धि प्राविधिक सेवा प्रदान गरेको सम्बन्धित निर्माण कम्पनी प्रविन निर्माण सेवालाई सम्मान पत्रबाट सम्मान समेत गरे ।
मेची सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरु निर्माण गरिएको बताए । बगालेले सो अवसरमा संस्था स्थापनाको २५ बर्षको इतिहासमा वित्तिय तथा सामाजिक क्षेत्रमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरुका बारेमा जानकारी गराएका थिए । उनले संस्थामा ३ अर्ब ६५ करोड बढीको वासलात रहेको जनाए । सो अवसरमा आवास क्षेत्रको लागि सशुल्क रुपमा जग्गा उपलब्ध गराउने तुलसा गौतमलाई सम्मान गरिएको छ । त्यस्तै सो क्षेत्रमा बसोबासका लागि घर जग्गा खरिद गरेका रेखा बुढाथोकी र बिमला कटुवाललाई जग्गा धनी दर्ताको प्रमाण पुर्जा समेत अध्यक्ष ओलीले हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामचन्द्र उप्रेती लगायत सहकारी अभियान्ताहरुले सहकारीमा देखिएका बिदमान समस्याहरु, सहकारी आन्दोलन र सदस्यहरुको भुमिका लगायतका बिबिध बिषयमा जानकारीमुलक प्रशिक्षण समेत दिएका संस्थाले जनाएको छ ।

