चैत १८ देखि किओच– दमक बाल अस्पतालको सेवा

दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको भवन ( रेडक्रस कम्प्लेक्स) मा बालबालिकाको उपचार विशेष किओच–दमक बाल अस्पताल सञ्चालनमा आउँदैछ । आउँदो १८ चैतदेखि अस्पतालमा प्रारम्भिक चरणको सेवा प्रारम्भ हुने जनाइएको छ । यसलाई अस्पताल व्यवस्थापन पक्षले सफ्ट लञ्च भनेको छ ।
बालबालिकाको उपचार सम्बन्धि विशेषज्ञ सेवासहितको प्रादेशिक बाल अस्पतालका रुपमा काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसँगको सहकार्यमा सो अस्पताल सञ्चालन गर्न लागेको हो । सो संस्थाको नेतृत्व नेपालमै ख्याती प्राप्त मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले गरेका छन ।
प्रा.डा. कोइरालाको नेतृत्वमा प्रदेश १ मै पहिलो र ठूलो बाल अस्पतालका रुपमा दमकमा सो अस्पताल सञ्चालनमा आउनु दमक र दमकबासीका लागि गौरबको बिषय भएको दमक नगर उपप्रमुख रेगिना भट्टराइले बताइन । इन्स्टिच्युटले ५० बेडको स्वीकृति लिए पनि करिब एक सय बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउन सक्ने गरी भौतिक संरचना निर्माण गरिएको डा. कोइरालालाई उदृत गर्दै नगर उप प्रमुख भट्टराईले बताइन ।
मुख्यतः विपन्न वर्गका बालबालिकालाई सहज एवं निःशुल्क उपचार प्रदान गर्ने अस्पतालको उद्देश्य रहेको पनि डा. कोइरालाले उल्लेख गरेका छन ।
रेडक्रसको चार तलाको भवनमा आकस्मिक सेवा, सघन उपचारलगायत बालबालिकाका सबै किसिमका रोगका उपचार गर्ने गरी अस्पताल निर्माण गरिएको रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले बताए ।
करिब ७ कट्ठा क्षेत्रफलमा रहेको रेडक्रस सोसाइटी दमक उपशाखाले अस्पताल सञ्चालन गर्न आफ्ना भवनसहितका संरचना ३० बर्षका लागि निःशुल्क रूपमा उपलब्ध गराएको छ ।
अस्पताल सञ्चालनमा आएपछि पूर्व क्षेत्रका बालबालिकाहरु प्रत्यक्ष लाभान्वित हुनेछन ।
अस्पताल शुभारम्भको अवसर पारेर चैत १९ देखि २१ गते (तीन दिन) सम्म बाल रोग तथा मुटु रोग विशेषज्ञ डाक्टरहरुको परामर्श तथा उपचार सेवासहितको निशुल्क बाल स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ ।

