काठमाडौँ /  नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना सङ्क्रमणको जस्तो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरे । रुघा, खोकी, अन्य ज्वरो प्रमाणित नभएसम्म कोभिड पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन उनको आग्रह छ ।
यस्तै मन्त्रालयले सूचना नै जारी गरी ‘अस्तिको पानीमा भिजेको’ ‘हिजो चिसो खाएको’ आज धुलोमा गएको भनेर बहाना नबनाऔँ,’ भनेको छ ।
बढ्दै सङ्क्रमित सङ्ख्या

साढे ६ महिनाअघि अर्थात् भदौ मसान्तसम्म सङ्क्रमितको दर दैनिक ११० को हाराहारीमा थियो । त्यसपछि क्रमशः सङ्क्रमण दर शून्य भएकोमा हाल पुनः उकालो लाग्न थालेको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमित बढेसँगै नेपालमा पनि यही चैत्र दोस्रो साता यता कोरोना सङ्क्रमितका सङ्ख्या बढ्न थालेको मन्त्रालयको तथ्याङ्कले पुष्टि गर्छ ।

गएको २४ घण्टामा ९८ जना कोरोना सङ्क्रमित भएका छन् । गएको एक साताको सङ्क्रमण दरको आँकडालाई हेर्दा बिहीबार चैत्र १६ गते ४२ जना, १७ गते १४२ जना, १८ गते ३८ जना, १९ गते ३८ जना, २० गते ७६ जना, २१ गते ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार विगतका अनुभवलाई आधार मान्दा बिस्तारै अब सङ्क्रमण दर बढ्न सक्छ ।

यही बेलामा नेपालमा लगातार मौसमी फ्लूका बिरामीहरू समेत देखिएका छन् । फ्लू सङ्क्रमण हुँदा जाँच गर्न जाने चलन छैन, जसले गर्दा कोरोना सङ्क्रमणको यकिन आँकडा आउन नसक्ने उनले बताए । कोरोना सङ्क्रमितको तथ्याङ्क अहिलेको भन्दा बढी हुन सक्ने उनको अनुमान छ । त्यसैले, सावधानी अपनाएर दैनिकी अघि बढाउन उनको सुझाव छ ।

‘पहिलोको जस्तो कोरोना भाइरस सङ्क्रमण जटिल छैन भनेर बेवास्ता भने गर्न हुँदैन,’ उनले भने, ‘कोरोना भाइरसविरुद्ध खोप लगाएका सबैमा प्रभावकारी हुन्छ भन्ने हुँदैन ।’

रोग प्रतिरोधात्मक क्षमता कमजोर, वृद्धावृद्ध, गर्भवती महिलामा सङ्क्रमण भई स्वास्थ्यमा समस्या आउने भएकाले सजग हुन अति आवश्यक रहेको उनको भनाइ छ ।

Facebook Comments Box