कोशी प्रदेशका मन्त्री राजभण्डारीको घरमा तोडफोड

विराटनगर / कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा रहेको समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौंस्थित निवासमा तोडफोड गरेका छन् ।


बुधबार विहान पेप्सीकलोस्थित राजभण्डारीको निवासमा केही व्यक्तिहरु प्रवेश गरेर तोडफोड गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।
एमाले सोलुखुम्बु जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोलाले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गरेका छन् । राजभण्डारी सोलुबाट निर्वाचित सांसद हुन् ।
पहिचानवादीहरुको नाममा छिरेका व्यक्तिले घरमा तोडफोड गर्नुका साथै परिवारलाई डर देखाएर आतंकित पारेको भन्दै एमालेले कारवाहीको माग गरेको छ । एमालेले राजनीतिक विषयमा समाधान राजनीतिक ढंगबाटै हुने भन्दै तोडफोडमा संलग्न व्यक्तिमाथि अपराधिक मुद्दामा कारवाही चलाउन ध्यानाकर्षण गरेको छ ।