दमक/ दमकको आम्दा अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईसहित स्वास्थ्य अधिकारीहरुको टोलीले बुधबार आकस्मिक अनुगमन गरेको छ ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्राप्त सरकारी सुविधाको उपयोग, लाभग्राही सुत्केरीहरुको अवस्था आदीका बारेमा जानकारी लिन नगरपालिकाकी अनुगमन समिति संयोजक समेत रहेकी उपप्रमुख भट्टराईसहित सरकारी अधिकारीहरुको टोलीले अनुगमन गरेको हो ।
सो अवसरमा अस्पतालका मेडिकल मेसु डा. प्रकाश शर्मा र आम्दा अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख सुमनकुमार नेपालले त्यहाँको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
सो अवसरमा उपप्रमुख भट्टराईले कतिपय सुत्केरी र कुरुवाहरुसँग भेटघाट गरि स्वास्थ्य अवस्था र अस्पतालबाट प्राप्त गरेको सेवा सुविधाका बिषयमा आवश्यक जानकारी लिएकी थिइन । अनुगमनका क्रममा नेपाल सरकारबाट आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी महिला र नवजात शिशुले पाउने सेवा सुविधाको सम्बन्धित लाभग्राहीहरुलाई अधिकतम उपयोग गर्न पनि लक्षित वर्गलाई आग्रह गरिन । उनले दमक नगरका स्थायी बसोबासी सुत्केरीहरुले पाउने सुत्केरी पोषण, नियमित स्वास्थ्य जाँच सुविधाको समेत उपयोगमा जोड दिइन ।
सो अवसरमा अस्पतालका मेसु डा. शर्माले सो अस्पतालबाट सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पहिलो विन्दु कटौती गरेपछि बहिरंग (ओपिडी सेवा)लिन आउने बिरामीको संख्या कम देखिएको र यसबाट अन्य बिरामीहरुले समेत समस्या भोग्नु परिरहेको तर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए । उनले प्रथम बिन्दुका रुपमा यसअघि सेवा दिदैं आएको आम्दा अस्पतालमा आएका बिरामीहरुले रेफर लिनका लागि प्रथम विन्दु रहेको अर्को अस्पताल जानुपर्दा आम्दा अस्पतालप्रतिनै नकारात्मक धारणा बनाउने गरेको पनि बताए ।
सो अस्पतालमा अघिल्लो आर्थिक बर्षमा करिब साढे १० हजार जनाले प्रसुती सेवा लिएको तथ्याङक छ । प्रसुति बाहेक आम्दा अस्पतालले माइनर तथा मेजर किसिमका अपरेशन, अन्य बिरामीहरुको उपचार सेवा तथा २४ सै घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, ल्याव , भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउँदै आएको छ । यो अस्पतालमा १७ बर्षदेखि आमा सुरक्षा कार्यक्रम चालू रहेको अस्पतालका नेपालले बताए ।

Facebook Comments Box