काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका छन्।

तर एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष सकिएको छ। आजै बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ। यसअघि एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन्।

बिहानको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी थिए। छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि सहभागी थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ पनि उपस्थित थिए।

Facebook Comments Box