पदम लिम्बू (लाजेहाङ)को एक महिना पछि अन्त्येष्टि गरिदै

झापा,४ बैशाख / प्रदेश नामांकनको विरुद्धमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्त्येष्टि हुने भएको छ । एक महिनापछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।
कोशी नामकरणको विरोधमा विराटनगरमा चैत ५ गते भएको आन्दोलनमा घाइते भएका लाजेहाङको चैत १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।
‘पुनः नामाकंन संयुक्त संघर्ष समिति’ले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानका आधारमा नामांकनको माग सम्बोधन र लाजेहाङलाई शहीद घोषणा नगरेसम्म अन्त्येष्टि नगर्ने भन्दै शव बुझ्न मानेको थिएन ।
संघीय सरकारले लाजेहाङलाई शहीद घोषणा गर्ने तथा क्षतिपूर्ति दिने निर्णय गरेपछि आन्दोलनरत पक्षले दोस्रो चरणको कार्यक्रमअन्तर्गत चैत १५ गते विराटनगरको रोडशेषमा लाजेहाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राख्ने र अन्तिम संस्कार गर्ने किराँत राई यायोख्खाका अध्यक्ष जीवन राईले बताए ।
गत फागुन १७ गते प्रदेशको नामकरण गरिएको थियो । पहिचानवादीहरूले ‘पुनः नामाकंन संघर्ष समिति’ नै बनाएर आन्दोलन गरिरहेका छन् ।उनीहरूले ११ गतेदेखि विराटनगरकेन्द्रित आन्दोलन गर्ने निर्णय गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू समेत घोषणा गरेका छन् ।
अध्यक्ष राईका अनुसार वैशाख १० सम्म जिल्लाहरूमा क्षेत्रीय आमसभा गर्ने त्यस अवधिमा पनि आन्दोलनलाई सम्बोधन नगरिए वैशाख ११ देखि १४ सम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने बताए । कोशी प्रदेशका सभामुख र मुख्यमन्त्रीलाई भेटेर १० गते सम्मको अल्टिमेटम दिएका थिए ।

