विश्वकै सर्वाधिक जनसंंख्या भएको देश बन्यो भारत

नयाँदिल्ली / भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (युएनएफपीए) को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको हो ।


युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसांख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ ।
सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसंख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गत वर्ष चीनको जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्योभने सोही अवधिमा भारतको जनसंख्यामा बढोत्तरी भएको छ ।
प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ । विज्ञहरूका अनुसार भारतलाई अहिले जनसांख्यिक लाभ भएको छ ।