आइसियूमा राखेर राष्ट्रपति पौडेलको उपचार गरिँदै

उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरु भएको छ । उनको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आइसियूविज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ ।


मंगलबार श्वास–प्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार चिकित्सक र परिवारको सल्लाहमा दिल्ली लगिएको हो । बिहान १० बजे शिक्षण अस्पतालबाट श्री एयरलाइन्सको विमानमार्फत एयरलिफ्टिङ गरेर उनलाई दिल्ली पुर्याइको थियो । शिक्षण अस्पतालले राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको र तल्लो भागमा थोरै पानी जमेको बताएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्यलाभको कामना
दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति निकालेर पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएको जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलसँगै दिल्लीमा रहेका निजी चिकित्सक नीरज बमका अनुसार उनको आइसियूमा राखेर उपचार भइरहेको छ । उनका अनुसार स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । चिकित्सकले नेपालमा भएका सबै परीक्षणलाई पुनः परीक्षण गरेर सूक्ष्म अध्ययन गरेर उपचार गर्न लागेको उनले सचिवालयलाई जानकारी गराएका छन् । ‘स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था चिन्ताजनक भएर होइन, प्रोटोकलका कारण आइसियूमा राखिएको हो ।
दिल्लीस्थित नेपाली राजदूतावासले पनि विज्ञप्ति निकालेर स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ । दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएको जानकारी दिएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भारत लगिएको जानकारी दिए । ‘शिक्षण अस्पताल र एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि त्यहीँ जान उपयुक्त हुने राय आएपछि भारतको एम्स अस्पताल लगिएको हो,’ उनले भने ।
राष्ट्रपति पौडेलको साथमा निजी चिकित्सक बम, परिवारका सदस्यसहित सातजना चिकित्सकको टोली दिल्लीमा छ । राष्ट्रपति पौडेललाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमा पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।
मंगलबार अक्सिजनको मात्रा कम भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । सोमबार राष्ट्रपति पौडेलको छातीको भिडियो एक्सरे गरिएको थियो । राष्ट्रपति निर्वाचित भएपछि १९ चैतमा उनी पहिलोपटक शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तत्कालीन समयमा पेटमा समस्या देखिएपछि पाँच दिन उपचार गराई शीतलनिवास फर्किएका थिए ।
त्यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकै अस्पतालमा उपचार गराउन चाहेको बताएका छन् । तनहुँमा आयोजित चुनावी सभामा बोल्दै उनले चिकित्सकले सिफारिस गरेका कारण राष्ट्रपति पौडेल भारत जान तयार भएको बताए ।