विद्युत कटौतीविरुद्ध उद्योगीहरु आन्दोलनमा उत्रिए
इटहरी/ नेपाल विद्युत प्राधिकरणले पूर्व जानकारीबिना विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु आन्दोलित भएका छन् । विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्थाहरु आन्दोलनमा उत्रिएका हुन् ।
विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि राति १० बजेसम्म दैनिक विद्युत कटौती गरिरहेको उद्योगीहरुले बताएका छन् । त्यसबाहेक पनि अन्य समयमा पनि विद्युत कटौती हुने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । आइतबार मोरङ व्यापार संघको अगुवाईमा विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएका व्यवसायीहरले नियमित विजुली दिन नसके लोडसेटिर्ङ तालिका सार्वजनिक गर्न माग गरे । अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन् । उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापनपत्र समेत बुझाएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोमा मंसिरबाटै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ ।

