दमक/ दमक उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८० सालको भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गर्दै शुभकामना आदान प्रदान र स्वागत सम्मान कार्यक्रम गरेको छ । सोमबार भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा हालै नवनिर्वाचित दमक उवासंघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना दिइएको थियो ।
नयाँ वर्षको क्यालेण्डर भने कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा लगायतका अतिथि तथा दमक उवासंघका वर्तमान अध्यक्ष गोपाल गुरागाई लगायतले सार्वजनिक गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै दमक नगर प्रमुख थापाले दमकका उद्योगी व्यवसायीहरुको समस्या र चुनौतीका बारेमा चाँडैनै आवश्यक छलफल गरी निकासको उपाय खोजिने बताए । उनले बर्तमान अवस्थामा देखापरेको विश्वव्यापी आर्थिक मन्दीका बेला उद्योग व्यवसाय क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि कसरी अगाडी बढ्न सकिन्छ भनेर एकअर्कामा सहयोग, सद्भाव र हातेमालो गर्नुपर्ने अवस्था आएको बताए । उनले दमकमा आगामी असार सम्ममा यातायात व्यवस्था कार्यालय र घरेल तथा साना उद्योगको कार्यालय आउने कुरामा सकारात्मक पहलकदमी भइरहेको पनि जानकारी गराए । कार्यक्रमका अध्यक्ष तथा दमक उवासंघका अध्यक्ष गुरागाईले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित गोकुल श्रेष्ठले साना र जिल्लाका उद्योगी व्यवसायीहरुका समस्यालाई केन्द्रमा लगेर उठान गर्ने र तिनको निराकरणको लागि पहल गर्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित महासंघका केन्द्रीय सदस्य श्रेष्ठले पनि आफूले अहिलेसम्म गरेको अनुभवको भरपुर सदुपयोग गरी महासंघलाई ठूला घरानाका उद्योगी व्यापारीहरुको मात्र नभई साना तथा मझौला उद्योगी व्यवसायीहरुको साझा संगठन बनाउन पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख लवकुमार अधिकारीले सबै उद्योगी व्यवसायीहरुलाई कर कानुनको उचित ढंगले पालना गर्न आग्रह गरे । इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले दमकका उद्योगी व्यवसायीहरुलाई शान्ति सुरक्षा दिन आफूहरु सदैव तत्पर रहेको बताए । कार्यक्रममा दमक उवासंघका पूर्वअध्यक्ष विजय प्रसाद बराल, बस्तुगत संघ संस्थाहरुका तर्फबाट उद्योगी विक्रम कुमार साह, पूर्व लेखा समिति संयोजक खोम प्रसाद बगालेले नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका थिए । क्यालेण्डर प्रकाशन समितिको संयोजक टिकाराम खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन दमक उवासंघका प्रथम उपाध्यक्ष राज कुमार योङ्याले गरेका थिए ।

 

 

Facebook Comments Box