काठमाडौं/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार गरेका छन् । पार्टीको संसदीय दलको बैठकमा सोमबार सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकक्ता औंल्याएको बताएका हुन् ।
काँग्रेस सांसद रामहरि खतिवडाका अनुसार पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेका थिए । उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको जानकारी दिए । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए । उनले भने, ‘नेपाली काँग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरुको धारणा के छ ? भन्ने कुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिज्यूले अहिले देश विषम परिस्थितिमा छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो ।’ सांसद खतिवडाले सांसदहरुले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नागरिकले देख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए । आइतबार सम्पन्न भएको चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा ठूला पार्टीहरूले अपेक्षा गरेअनुसार मत पाएको देखिएन ।

 

Facebook Comments Box