ललितपुर/ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको कार्यालय ललितपुरमा भएको कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधान र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघका अध्यक्ष एमयोङ योङ जुकले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस्तै, सोही कार्यक्रममा काठमाडौंस्थित एजिङ नेपाल र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा एजिङ नेपालका अध्यक्ष कृष्ण एम गौतम र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघका अध्यक्ष एमयोङ योङ जुकले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, एजिङ नेपाल र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघ (काप) बीच एक अर्को देशका ज्येष्ठ नागरिकका अनुभवको आदानप्रदान गरी ज्येष्ठ नागरिकहरूको हक अधिकार र सुरक्षित जीवनका लागि काम गरिने कार्यक्रमका लागि सहजीकरण गरेका रत्नप्रसाद श्रेष्ठले जानकारी दिए । समझदारी पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष प्रधानले कोरियाको राम्रा अनुभवलाई सिको गरी ज्येष्ठ नागरिकको हक हितमा काम गर्न यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै, कार्यक्रममा एजिङ नेपालका अध्यक्ष गौतमले ज्येष्ठ नागरिकको अनुभवबाट राज्यलाई नीति निर्माण गर्नमा सहयोग पुग्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनु अहिलेको आवश्यकता भएको र आफूहरूले त्यसअनुसार पैरवी गर्दै अगाडि बढ्ने बताए । कार्यक्रममा कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघ (काप)का अध्यक्ष एमयोङ योङ जुकले नेपालको ज्येष्ठ नागरिकका क्षेत्रमा देखिएका उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै कोरिया र नेपालको एक अर्काको अनुभवका राम्रा पक्षलाई अनुसरण गर्दै ज्येष्ठ नागरिक हक अधिकार र सुरक्षा सम्बन्धी कार्यका लागि मिलेर अगाडि बढ्ने कुरामा जोड दिए ।

Facebook Comments Box