काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापाको बुधबारेमा आक्रमणको प्रयास भएको छ । सोही स्थानमा हुन लागेको एक कार्यक्रममा जान लागेका बेला एमाले अध्यक्ष ओलीमाथि कोशी नामाकरणको विरोधमा रहेको पहिचानवादी समूहले ढुंगामुढा गर्ने प्रयास गरेको बुझिएको छ । सो कार्यमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ढुंगामुढा गर्दा २ जना प्रहरी घाइते भएको जानकारीमा आएको छ ।
अध्यक्ष ओलीको बुधबारेका कार्यक्रम भने प्रहरीहरुको सुरक्षाका बीच सफल भएको र उनी इलामको अर्को कार्यक्रम तर्फ लागेको बताइएको छ । यसबारेमा बुधबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले केपी शर्मा ओली झापाको बुधबारेमा हुन लागेको कार्यक्रममा जाने क्रममा कोशी नामाकरणको विरोधमा रहेका समूहले ढुङ्गामुडा गर्ने दुःखद घटना भएको जानकारी गराएका हुन् ।
संसदमा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘शान्तिपूणर् रुपमा आफ्नो विचार राख्न र जनमत निर्माण गर्ने कामलाई सरकार सम्मान गर्ने तर गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूणर् गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूणर् आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन । बलिदानी संघर्ष गरेर प्राप्त गरेको यो संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधानको रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध छ ।’ उनले शान्ति सुरक्षा दिन प्रतिबद्ध रहेको बताउँदै त्यस्ता खालका गतिविधि नगर्न आग्रह गरे । उनले समस्याको समाधान वार्ताद्वारा समाधान गर्न सकिने र त्यसप्रकारका अवाञ्छित गतिविधि नगर्न चेतावनी समेत दिएका छन् ।

Facebook Comments Box