बुधबारे/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयासमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्र लिङ्देन र बुलेट किराती राई रहेका छन् । पक्राउ परेका मध्ये लिङ्देन सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा नायक हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको बताइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबार आयोजित कार्यक्रममा कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास गरेका हुन् । आक्रमणबाट ओलीलाई जोगाउन खोज्दा प्रहरीसंग झडप भएको थियो । एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले एमाले अध्यक्षमाथि आक्रमण गर्न खोज्ने पहिचानवादीहरुलाई रोक्न खोज्दा प्रहरीसंग झडप भएको जानकारी दिए । घाइते प्रहरीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले आफूहरुको कालो झन्डा देखाउने कार्यक्रम रहेको र कार्यक्रम सकेर फर्किन लाग्दा युवा संघका कार्यकर्ताहरुले घुसपैठ गरी ढुंगा हानेको दावी गरे । ‘कालो झन्डा देखाएर पत्रकार सम्मेलनका लागि हामी फिर्न लागेका थियौं’ उनले भने, ‘त्यही बेला घुसपैठ भई ढुंगा हान्ने काम भएको हो ।’ ओली बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । ओलीलाई विरोध गर्न करिव तीन सयको संख्यामा पहिचानवादीहरु गएका थिए । यसैबीच, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर प्रहरीले पक्राउ गरेका आफना कार्यकर्तालाई विना सर्त रिहा गर्न माग गरेको छ ।
घटनाका बारेमा बुधबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् । प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले केपी शर्मा ओली झापाको बुधबारेमा हुन लागेको कार्यक्रममा जाने क्रममा कोशी नामाकरणको विरोधमा रहेका समूहले ढुङ्गामुडा गर्ने दुःखद घटना भएको जानकारी गराएका हुन् । संसदमा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘शान्तिपूणर् रुपमा आफ्नो विचार राख्न र जनमत निर्माण गर्ने कामलाई सरकार सम्मान गर्ने तर गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूणर् गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनैपनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूणर् आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन । बलिदानी संघर्ष गरेर प्राप्त गरेको यो संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधानको रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध छ ।’ उनले शान्ति सुरक्षा दिन प्रतिबद्ध रहेको बताउँदै त्यस्ता खालका गतिविधि नगर्न आग्रह गरे । उनले समस्याको समाधान वार्ताद्वारा समाधान गर्न सकिने र त्यसप्रकारका अवाञ्छित गतिविधि नगर्न चेतावनी समेत दिएका छन् ।

Facebook Comments Box