कमल/ संघीय सरकारको निणर्यअनुसार झापाको कमल गाउँपालिकाले पनि पालिकाबाटै श्रम स्वीकृति दिन थालेको छ । यही बैशाख १ गतेबाट लागू भएता पनि दुई दिन अघि मात्र औपचारिक रुपमा श्रम स्वीकृति दिने कार्य थालिएको गाउँपालिकाको रोजगार सेवा केन्द्रले जनाएको छ । जसअनुसार पहिलो सेवाग्राही कमल- १ निवासी मान बहादुर कटुवालले श्रम स्वीकृति पाएका छन् ।
श्रम स्वीकृति पछि कटुवालले पालिकाबाटै श्रम स्वीकृति प्राप्ति भएकोमा खुशी व्यक्त गरेका छन् । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।
यसैगरि मोरङको मिक्लाजुङ गाउँपालिकाले पनि श्रम स्वीकृति दिन थालेको छ । त्यस पालिकाबाट श्रम स्वीकृति लिने पहिलो सेवाग्राही मिक्लाजुङ गाउँपालिका-७ का केशव सिग्देल बने । उनले खुशी व्यक्त गर्दै भने, ‘यसअघि काठमाडौँ र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो । अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भएको छ ।’ मिक्लाजुङले वैदेशिक रोजगारीका लागि जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि प्रारम्भ गर्ने सूचना २०७९ चैत २९ गते प्रकाशन गरेको थियो ।
यसैगरी उर्लाबारी नगरपालिकाले पनि श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेले बताए । नगरपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि दिन थालेको हो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । श्रम स्वीकृति सम्बन्धि सेवा लिन आउँदा अनिवार्य रुपमा पासपोर्ट, नागरिकताको प्रमाणपत्र, आफ्नो बैंकको चेक, करार सम्झौता पत्र, पासपोर्ट साईजको फोटो र इन्स्योरेन्स लगायतका कागजातहरु स्वम लिएर आउन आग्रह गरेको छ ।

Facebook Comments Box