धुलाबारीमा प्र्थम दनुवार महोत्सव हुने
धुलावारी/ प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन गरी यही वैशाख १६ गते धुलाबारीको पुरानो पशुहाटमा एक दिवसीय महोत्सव आयोजना हुने जनाएको हो ।
दनुवारहरुको जातीय पहिरन, कला, संस्कृति, भेषभुषा, खाना, गहनाको प्रदर्शनी महोत्सवमा गरिने समितिका जिल्ला अध्यक्ष श्याम दनुवारले जानकारी दिए । सो अवसरमा ज्येष्ठ नागरिकको सम्मान गरिने भएको छ । महोत्सवमा जिल्लाभरीबाट ५०० भन्दा बढी दनुवार समुदायको सहभागिता रहने बताइएको छ । दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारले महोत्सवको उद्घाटन गर्ने बताइएको छ ।
केन्द्रीय सल्लाहकार अग्नीमाया मेचे दनुवारले महोत्सवमा ३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । स्थानीय सरकारसँग महोत्सवका लागि सहयोग मागिने मेचीनगर अध्यक्ष मोहन दनुवारले बताए । कार्यक्रममा नेपाली काँंग्रेस मेचीनगरका सभापति एवम् निवर्तमान वडाध्यक्ष सुदय पनेरु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाका पूर्वसचिव अमित खम्बुले महोत्सव सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

