दमक/ झापाको कमल गाउँपालिका वडा नम्वर ३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन र हात्ती आएको जानकारी दिन साइरन बजाइने भएको छ ।
हात्ती धपाउन अन्य केही पनि उपाय नभएपछि वार्डको तर्फबाट यस प्रकारको कार्यक्रम ल्याइएको समेत बताइएको छ । वडाध्यक्ष अग्नीप्रसाद कोइरालाका अनुसार हात्तीका कारण धेरै समस्या हुन थालेपछि स्थानीयको सुझावका आधारमा वडाका ९ वटा टोल विकास संस्थालाई साइरन र टर्चलाइट उपलब्ध गराईएको हो । यसबाट हात्तीको जोखिम न्यूनीकरणमा केही भए पनि राहत मिल्ने विश्वास लिइएको कोइरालाले बताए । उनका अनुसार सानो केर्खा, बोहोरा टोल र केर्खा बजारमा जङ्गली हात्तीले दुःख दिने भएकाले ती टोल विकास संस्थामा स्थानीयले राति अनिँदो रहेर हात्ती रुँघ्ने गरेका छन् । हात्तीले यो वर्ष मात्र धेरैको घर भत्काएको र बालीनालीमा समेत धेरै क्षति गरेको बताइएको छ ।
दमकमा आउन थाले हात्ती
केही समय दमकमा नदेखिएका हात्तीहरु फेरि देखिन थालेका छन् । दमकको वडा २ र ३ मा पर्ने हंसेदुम्से सामुदायिक वन तथा आसपासको क्षेत्रमा हात्तीको हुल देखिन थालेको हो । किसानले लगाएको मकै बालिको समय भएकाले हात्तीले आहारा खोज्दै जंगलबाहिर निस्कने र यसले ठूलो क्षति गरेको वडा -३ का वडाध्यक्ष नविन बरालले बताए ।

Facebook Comments Box