चट्याङ लागेर मृत्यु, बाबु-आमा घाइते
ताप्लेजुङ/ चट्याङले लागेर ताप्लेजुङमा नाबालक छोराको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् । जिल्लाको मैवाखोला गाउँपालिका -४ साँघु ताम्राङका दार्जिलिङ शेर्पाको घरमा बुधबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर छोरा १० वर्षीय फुर्वादोर्ची शेर्पाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यस्तै चट्याङले लागेर ४७ वर्षीय दार्जिलिङ र उनकी श्रीमती ४७ वर्षीया निङ्माल्हामु शेर्पा घाइते भएको प्रहरी निरीक्षक कार्कीले बताए । उनका अनुसार शेर्पा दम्पतीको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको छ । त्यस्तै बालकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको र शव परीक्षणको प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

