बलुचिस्तानको भिडन्तमा ६ प्रहरी मारिए
एजेन्सी/ पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा ६ जना प्रहरी मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय गृहमन्त्री जियाउल्ला लाङ्गोवेका अनुसार जाफरावाद जिल्लामा आपराधिक समूहसँग भएको झडपमा ती सुरक्षाकर्मीले ज्यान गुमाएका हुन् । लुटपाट र अन्य जघन्य अपराधमा संलग्न समूहको खोजीमा रहेको प्रहरी टोलीमाथि आक्रमण भएको थियो ।
प्रहरीले घटनास्थल र वरपरको क्षेत्रमा घेरा हालेर उक्त समूहको खोजी अभियान जारी राखेको छ । आक्रमणमा घाइते भएका प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही आक्रमणकारी भागेका र उनीहरूको पनि खोजतालस भइरहेको गृहमन्त्री लाङ्गोवेले बताएका छन् । यसैबीच, छिमेकी अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको तथा अन्य नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ बाजिरीले बताएका छन् । नहरए शाही जिल्लामा भएको उक्त दुर्घटनामा केही महिला र बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन् । घाइतेमध्ये केहीको अवस्था गमभीर छ । गत आइतबार यता अफगानिस्तानमा भएका सडक दुर्घटनामा यो पाँचौ हो । गत मङ्गलबार पश्चिम बाघिस प्रान्तमा यस्तै दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए भने सोमबार बागलान प्रान्तमा भएको अर्को दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

