दमक/ पर्यटन कार्यालय काँकडभिट्टाले झापाको दमकका पर्यटन व्यवसायीहरुलाई एकदिने क्षमता अभिवृद्धि तालिम दिएको छ । तालिममा पर्यटन विज्ञ सागर खनालले पर्यटन व्यवसाय र बजारीकरण, पर्यटन विज्ञ मोती पौडेलले पर्यटन व्यवसायको क्षमता अभिवृद्धि, आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत दलकुमार राईले कर र यसका विविध पक्षबारे तथा पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरोज कट्टेलले पर्यटक स्तरीय होटल, रिसोर्ट तथा रेष्टुरेन्ट दर्ता सम्बन्धी जानकारीका बारेमा आ-आफ्नो प्रस्तुति गरेका थिए  । कार्यक्रममा दमकका होटल व्यवसायी, ट्राभल एण्ड टुर व्यवसायी, टुर गाइड लगायतको सहभागिता रहेको थियो  ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत राम सुन्दर थापाको प्रमुख आतिथ्यता र पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख प्रभात भट्टराईको अध्यक्षतामा मंगलबार दमक नगरपालिका-२ भाङबारीस्थित दमक फन पार्कमा भएको कार्यक्रमको उद्घाटनमा स्वागत मन्तव्य होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजन दंगालले राखेका थिए भने  कार्यक्रमको औचित्यबारे पर्यटन कार्यालय काँँकडभिट्टाका सूचना अधिकारी निरोज कट्टेलले प्रकाश पारेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि रहेका थापाले पर्यटन व्यवसायको प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने साथै पर्यटन व्यवसायको नीतिगत सुधार आवश्यक भए त्यो गर्न पनि तयार रहनुपर्ने बताए । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा) कोशी प्रदेशका अध्यक्ष उदय कुमार श्रेष्ठ पर्यटन क्षेत्रको विकासका लागि विभिन्न नयाँ नयाँ योजना र कार्यक्रमहरु ल्याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले आर्थिक मन्दीको बर्तमान अवस्थामा राज्य र सरकारले होटल तथा पर्यटन व्यवसायीहरुको हितका लागि राहत र सहुलियतका कार्यहरु गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख भट्टराईले कार्यक्रममा उठेका जिज्ञासाहरुलाई समेटेर विद्यमान समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने र चुनौतीहरुको सामन गरी नीतिगत सुधार गर्नुपरे माथिल्लो निकायमा पुर्‍याउने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपानेले पर्यटन व्यवसायीहरुलाई करको बोझ मात्र नथोपरी राहत र सहुलियतका कार्यक्रमहरु पनि ल्याउनुपर्ने धारणा राखे । कार्यक्रममा दमक नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष प्रजापति सापकोटा, पर्यटक प्रहरी शाखा काँकडभिट्टाकी प्रमुख गिता बस्नेत, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, संचारकर्मी लगायतको विशेष सहभागिता रहेको थियो । कार्यक्रम संचालन पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका अधिकृत हेमराज अर्यालले गरेका थिए ।  कार्यक्रममा होटल व्यवसायी महासंघ कोशी प्रदेश, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स कोशी प्रदेश र होटल व्यवसायी संघ दमकको सहकार्य रहेको थियो ।

Facebook Comments Box