काठमाडौं/ नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो । यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । एसिया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । कुनै कारणले प्रतियोगिता प्रभावित नभएमा आयोजक पाकिस्तानसहित भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एसीसी प्रिमियर कपको उपाधि विजेता नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

यो जित पछि नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । एसिया कपमा छनोट भएको भने यो दोस्रो पटक हो । २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसीसी ट्रफीको फाइनलमा पुगेका दुई टोली यूएई र नेपाल एसिया कपका लागि छनोट भएका थिए । नेपालले मलेसिया र यूएईले हङकङलाई सेमिफाइनलमा पराजित गरेका थिए । यसै बिच नेपालको पछिल्लो जितपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरुले नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् ।

 

Facebook Comments Box