झापामा बालबालिकासहित ६ जना हराए
दमक/ झापामा पछिल्लो समय बालबालिकाहरु हराउने क्रम बढ्दै गएको छ । जिल्लाको माईपश्चिम क्षेत्रमा मात्र पछिल्लो एक साताको अवधिमा दुई बालिकासहित ६ जना व्यक्तिहरु हराएको पाइएको छ ।


दमक-८ घर भई सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय डेनिस काफ्ले तीन दिनदेखि वेपत्ता भएका छन् । यसैगरी कमल गाउँपालिका-३ केर्खा निवासी धिमाल जेठा भनिने चन्द्र धिमालकी १३ वर्षीया छोरी सङ्गीता धिमाल र सोही वडा न्यूरोड टोल बस्ने विकास सोरेनकी १३ वर्षीया छोरी सुमित्रा सोरेन यही वैशाख १६ गतेदेखि हराइरहेकी केर्खा प्रहरी चौकीले जानकारी दिएको छ । यसअघि कमल गापा-४ किरात चौकका १८ वर्षीय आशिष हाङसुरुम्बा लिम्बू गत वैशाख ५ गतेदेखि हराएका छन् । यसैगरी गौरादह नगरपालिका-५ स्कुलचौन बजार उत्तर खानेपानी ट्याङ्की टोलका ४० वर्र्षीय दुर्गा बहादुर श्रेष्ठ यही वैशाख १५ गते बेलुका ४ः३० बजे एकाएक हराएको भएपनि हालसम्म खोजतलास गर्दा समेत उनलाई फेला पार्न नसकिएको स्थानीय तारा कुमार श्रेष्ठले बताए ।
हराएका व्यक्तिका परिवारले खोजतलासका लागि नजिकका स्थानीय प्रहरी कार्यालयमा हुलियासहित जाहेरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीमा आएका ती हुलिया जाहेरी अनुसार आवश्यक खोजतलास समेत भइरहेको जिप्रका झापाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।