दमक/ विश्व प्रेस स्वतन्त्रताका दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका विषयमा महासंघले कार्यक्रम गरेको हो । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा अधिकारकर्मी डा. रुपक खनालले अभिव्यक्ति स्वतन्त्रताका विषयमा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले अभिव्यक्ति स्तन्त्रता माथिका चुनौती र पत्रकार गणेशमान मुखियाले सूचना प्रविधि र उपकरणको प्रयोगका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा महासंघ झापा शाखाका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस मञ्च नेपाल तथा पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, प्रेस चौतारी नेपाल, कोशी प्रदेशका महासचिव गोपाल झापाली, प्रेस युनियन केन्द्रीय सचिव रेजीना गौतम, महासंघ प्रदेश कोषाध्यक्ष विमल लामिछाने, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुप्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वणर्लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रम गौरादह नगरपालिकाको सहयोग तथा पत्रकार मञ्च दमक, सञ्चार क्लब गौरादह, सक्रिय पत्रकार सञ्जाल दमक र शिवसताक्षी प्रेस क्लबको समन्वयमा भएको थियो । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो । सोही कार्यक्रममा महासंघको गतिविधि समेटिएको क्यालेन्डर विमोचन गरिएको थियो ।

‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मंगलबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको हो । एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ । गएको वर्ष यही अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए । यसबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएका छन् ।

Facebook Comments Box