दमकका किसानहरुलाई च्यापकटर र माछाका भूरा अनुदान

दमक/ झापाको दमक नगरपालिकाले नगर क्षेत्र भित्रका पशुपालक किसानहरुलाई १८ थान कुटी काट्ने मेशिन वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा मोटर सहित ती मेशिनहरु मंगलबार नगरपालिका हातामा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी वितरण गरियो । त्यस्तै सोमबारनै २० जना माछा पालक किसानहरुलाई ८२ हजार वटा माछाका भूरा पनि अनुदानमा उपलब्ध गराइएको छ ।
नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता र आर्थिक समिति संयोजक तथा वडा नम्वर ५ का अध्यक्ष इन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कुटी काट्ने मेशिन पाएपछि आफूहरुलाई पशुहरुलाई आहारा दिन थप सजिलो हुने बताउँदै खुशी व्यक्त गरे । प्रति गोटा ३१ हजारका दरले १८ वटा कुटी काटने मेशिन अर्थात् च्यापकटर खरीद गरी वितरण गरिएको नगरपालिका पशु पंक्षी विकास शाखाका प्रमुख गणेश कुमार प्रधानले जानकारी गराए । त्यसमा किसानहरुको पनि अपनत्व होस् भनेर २५ प्रतिशतले पर्न आउने झण्डै साढे सात हजार रुपैयाँ भने किसानहरुको परेको जानकारी गराइएको छ । कुटी काट्ने मेशिन वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको र त्यसपछि मापदण्ड पुगेको किसानहरुको गोठमा गई पशुपालनको अवस्था अनुगमन र निरीक्षण गरी १८ किसानलाई छनौट गरी यस्तो प्रकारको मेशिन उपलब्ध गराइएको हो । २०७४ साल यता नगरपालिकाले ५४ जना किसानहरुलाई च्यापकटर उपलब्ध गराइसकेको छ । यो वितरण गर्दा कम्तीमा पनि ५ माउ गाई, ३ माउ भैँसी या २० माउ बाख्रा पाल्ने किसानलाई प्राथमिकता दिई वितरण गरिएको नगरपालिकाले जानकारी गराएको छ । त्यसक्रममा घाँसको अवस्था, पशुपालन फार्म दर्ता, फार्म व्यवस्थापन, जैविक सुरक्षा र मलमूत्रको व्यवस्थापनको पाटोलाई पनि मूल्यांकनको विषय बनाइएको शाखा प्रमुख प्रधानले बताए ।
कार्यक्रममा प्रमुख अतिथि थापाले च्यापकटरको उपलब्धताले सम्बन्धित किसानलाई पशुपालनमा राहत पुग्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकाले वास्तविक पशुपालकहरुलाई यस्ता अनुदान र सहयोगका कार्यक्रमहरु ल्याउँदै जाने पनि बताए । कार्यक्रममा विशेष अतिथि रहेकी नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाईले पशुपालक किसानहरुको उन्नति प्रगतिका लागि नगरपालिका आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बताइन् । आर्थिक समिति संयोजक तथा वडा नम्वर ५ का वडाध्यक्ष गुरुङले नगरपालिकाले दिएको अनुदान सहयोगको सही सदुपयोग हुनेमा आफूहरु विश्वस्त रहेको बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौला, वडा नम्वर १ का वडाध्यक्ष हरि प्रसाद न्यौपाने र कार्यपालिका सदस्य देवकादेवी भुजेलले उपस्थित पशुपालक किसानहरुलाई च्याकटर वितरण गरेका थिए । सो कार्यक्रम पछि २० जना माछापालक किसानहरुलाई कमन कार्प जातको माछाका भूरा अुनदानमा वितरण गरिएको थियो ।

