दमक/ कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आएका पुनः नामांकन संघर्ष समितिका आन्दोलनकारी र प्रहरी बीच झापाको दमकमा मंगलबार साँझ झडप भएको छ । झडपमा परी राँके जुलुस निकाल्ने आन्दोलनकारी तर्फ र प्रहरी तर्फ गरी १० जनाभन्दा बढी घाइते भएको जानकारीमा आएको छ ।
दमकको गोरखा डिपार्टमेन्ट अगाडिबाट शुरु भएको राँके जुलुश गणतन्त्र चोकमा आइपुगेपछि सुरक्षामा खटिएका प्रहरीहरुसंग घम्साघम्सी भएको थियो । त्यसक्रममा राँको खोसाखोस समेत भएको थियो । प्रहरीसंगको झडपका क्रममा अश्रु ग्याँस र हवाई फायर गरिएको थियो । गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो घाइते भएको आन्दोलनकारी पक्षले जनाएको छ । दीक्षाको शरीरका विभिन्न भागमा चोट लागेको छ भने फागोको घुँडामा गहिरो चोट लागेको छ ।
उनीहरुलाई दमकको आम्दा अस्पताल र लाइफ लाइन अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पतालमा लगिएको जानकारी गराइएको छ । त्यसैगरी झडपमा क्रममा केही प्रहरी पनि घाइते भएको बुझिएको छ । प्रत्यक्षदर्शीका अनुसार आन्दोलनकारीलाई प्रहरीमाथि भाटा र ढुंगा प्रहार गरेपछि त्यसको प्रतिवादमा प्रहरीले अश्रु ग्याँस, ब्लाङ्क फायर र हवाई फायर गरेको थियो । आन्दोलनकै क्रममा गत चैत्र ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू (लाजेहाङ) को चैत्र १० गते उपचारका क्रममा धरानमा ज्यान गएको थियो । लाजेहाङलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।

Facebook Comments Box