दमकका मेयर थापाको संयोजकत्वमा सामुदायिक प्रहरी

दमक/ दमक नगरपालिकाले नगर सामुदायिक प्रहरी साझेदारीको नयाँ समिति गठन गरेको छ । समाजमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न समुदायकै सरोकारवालाको भूमिका सकृय हुने अपेक्षा सहित नगरले २१ सदस्य समिति गठन गरेको हो ।
नवगठित समितिमा संयोजक दमक नगरपालिका प्रमुख राम कुमार थापा र सहसंयोजकद्वय उपप्रमुख रेगिना भट्टराई प्रसाईँ र दमक इलाका प्रहरी कार्यालयका प्रमुख मनोजकुमार लामा रहेका छन् । समिति सदस्यहरुमा विभिन्न सघं संस्थाको प्रतिनिधित्व हुने गरी टेक बहादुर थापा, जीवन कुमार गौतम, सुरेन्द्रराज दाहाल, रोशनकुमार गौतम, मुकेश अग्रवाल, मोहन कुमार बोगटी, सुमित्रा प्रसार्ईं, जनार्दन कुमार मैनाली, भूमिका दाहाल, कमन देवान, कृष्ण खड्का, सुरेन्द्र श्रेष्ठ, गणेश गौतम, चन्द्र राजवंशी, दुर्गा तामाङ, राजकुमार दाहाल, गंगा सिटौला र चित्रा ढकाल चयन भएको नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिकाको सभाहलमा सम्पन्न भेलाले नगरका राजनीतिक दलका नेतृत्वहरु र समितिको निणर्य अनुसार सो सरहका थप ब्यक्ति रहने गरी सल्लाहकार समिति चयन गर्ने भएको जनाइएको छ । जसको संयोजक नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईं तोकिएका छन् । समितिको पहिलो बैठक यही ज्येष्ठ ३ गते बिहान ८ बजे दमक नगरपालिका परिषरमा बस्ने समितिका संयोजक तथा नगरपालिका प्रमुख रामकुमार थापाले जानकारी दिए ।

