दमक/ नक्कली भुटानी शरणार्थी काण्डले वर्षौदेखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्‍याएको भन्दै भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि आग्रह गरेको छ ।

समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कार्यले गैरभुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशंका पैदा गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हालै गैरभुटानीहरूलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो धनराशीको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई पुष्टि हुनेगरी सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणले सक्कली भुटानीहरू अत्यन्तै दुःखित भएको विज्ञप्तिमा उल्लेख छ । स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूणर् जीवन बिताइरहेका करिब ६ हजार ५ सय हाराहारीका भुटानी शरणार्थीहरू र खाट्टी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यान दिन समितिले माग गरेको छ । शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि उनीहरूले नयाँ परिचयपत्र पाएका छैनन् । नवीकरण भएको परिचयपत्र वितरणमा चरम ढिलासुस्ती भएकाले सक्कली भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको छ ।

Facebook Comments Box