विराटनगर/  कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई बार्तामा बोलाएकोप्रति पुन नामांकन संघर्ष समितिले आपत्ती जनाएको छ । समितिले विज्ञाप्ति जारी गर्दै यस्तो प्रतिक्रिया जनाएको हो । विज्ञापितको लेखिएको छ–
छापामार शैलीमा शासक जातीय एकल नश्लीय एवम् गोत्रीय आधारको प्रदेश नाम ‘कोशी’ खारेजीको आन्दोलनको क्रममा २०८० जेठ १४ गते विराटनगरबाट पक्राउ परेका ८६ मध्ये २६ जनालाई प्रहरीले झुठा मुद्दा चलाउने तयारी गरेका थिए । यसै सन्दर्भमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जेठ १६ गते कार्यालय समयभित्र पक्राउ गरिएकालाई नछाडे १७ गतेदेखि अनिश्चितकालीन आम हड्ताल गर्ने घोषणा गरेको थियो ।

२०८० जेठ १६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासङ्घको प्रतिनिधि तथा मानव अधिकारकर्मी समेतको उपस्थितिमा पक्राउ परेका २६ जना आन्दोलनकारीहरूलाई विनासर्त रिहाइ गर्ने सहमति भएको सम्बन्धित सबै पक्षलाई यस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौँ ।

पक्राउ परेका हाम्रा नेता कार्यकर्ताहरूलाई रिहाइ गरिएपछि २०८० जेठ १७ गतेदेखि गर्ने भनी घोषणा भएको प्रदेश व्यापी अनिश्चितकालीन आम हड्ताल तत्कालका लागि फिर्ता लिने र १७ गते विराटनगरमा हुने विरोध प्रदर्शन भने जारी रहने भएकाले कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई यसै विज्ञप्ति मार्फत आव्हान समेत गर्दछौँ ।

हामी प्रदेश नाम ‘कोशी’ शान्तिपूर्ण आन्दोलन मार्फत खारेजी होस् भन्ने चाहन्छौँ । प्रदेश नाम ‘कोशी’ राख्न हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्यहरूलाई ‘कोशी’ नाम खारेजीको प्रकृयामा अघि बढ्न आग्रह गर्दछौँ । हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले शान्तिपूर्ण रूपमा उठेको आवाजको सुनुवाइ नगरे आन्दोलन एकपछि अर्को गर्दै कडा हुँदै जाने कुरा यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौँ ।

शान्तिपूर्ण रूपमा हुने आन्दोलनलाई हस्तक्षेप तथा नेता कार्याकर्ताहरूलाई गिरफ्तार गरेर परिस्थितिलाई आक्रामक नबनाउन, पक्राउ परेका राजनीतिक तथा सामाजिक सङ्गठनका नेताहरूलाई आइन्दा अपराधीसरह व्यवहार नगरी राजबन्दीको रूपमा सम्मानित व्यवहार गर्न समेत प्रशासन पक्षलाई आग्रह गर्दछौँ ।

प्रहरीले आन्दोलनरत सङ्गठनका नेता, कार्यकर्ताहरूलाई मात्र नभएर आदिवासी जनजाति चेहरा देख्नासाथ फरक व्यवहार गर्ने गरेको, झडप हुने क्रममा चेहराको आधारमा जो सुकैलाई हप्कीदप्की, कुटपिट, धरपकड तथा गालीगलौज गरिएको विभिन्न व्यक्तिहरूबाट रिपोर्ट आएकोले यस प्रकारको साम्प्रदायिक व्यवहार नगर्न प्रहरी प्रशासनलाई आग्रह गर्दछौँ ।

जेठ १४ गते प्रहरीको पिटाइ, अश्रुग्यास प्रहार, फायरिङबाट घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनलाई थप सशक्त बनाउन लागि पर्न प्रदेशवासी न्यायप्रेमी जनसमुदायलाई हार्दिक आव्हान गर्दछौँ ।

आज १६ गते रिहाइ हुनुभएका नेता÷कार्यकर्ताहरू
अमृत राई (वर्ष ४०), अशोक चेम्जोङ लिम्बू, आरभि लिम्बू ‘भविश्वर’ (वर्ष ४५), कुलप्रसाद लिम्बू (वर्ष ६०), कुसुम राई, खड्क लिम्बू (वर्ष ५१), छबिरमण सार्की, जेबी साँबा (वर्ष ४३), ताराकुमार लिम्बू (वर्ष ५०), दुर्गा मगर (वर्ष ४६), नबीन पोमु (वर्ष ४३), पदम खेवाङ (वर्ष ६८), प्रदिप लिम्बू, प्रमोद लिम्बू, प्रयास बान्तावा राई, मनकुमार थेगिम, मनकुमार लिम्बू, राजभक्त लिम्बू, रोशन लिम्बू (वर्ष २१), शङ्कर लिम्बू, सञ्जिव लिम्बू (वर्ष ५५), सन्तोष सम्बाहाम्फे, सिताराम राई, सुकराज थेबे (वर्ष ५१), सुकराज लिम्बू (वर्ष ४६) र सुमन केरुङ (वर्ष ४४) ।

प्रदेश नाम ‘कोशी’–खारेज गर !
प्रदेशको नाम ‘कोशी’ – मुर्दावाद !
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् !
पहिचानको आधारमा प्रदेश नं. १ को – पुनः नामकरण गर !

२०८० जेठ १६ गते

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति
(समन्वय समिति)

 

Facebook Comments Box